धोनीले आईपीएल २०२६ खेल्ने, चेन्नईका सीईओले गरे पुष्टि

धोनीले आईपीएल २०२६ खेल्ने, चेन्नईका सीईओले गरे पुष्टि

एजेन्सी : चेन्नई सुपर किंग्स (सीएसके) का सीईओ काशी विश्वनाथनले महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ खेल्ने स्पष्ट पारेका छन्।

विश्वनाथनका अनुसार, धोनीको हाल संन्यास लिने कुनै योजना छैन। उनले एक म्यागजिनसँगको कुराकानीमा यो कुरा बताएका हुन्।

यद्यपि, हालै एक कार्यक्रममा धोनीले आफ्नो भविष्यबारे भनेका थिए, ‘मसँग सोच्नका लागि ४-५ महिनाको समय छ। मैले खेल्दिनँ पनि भनेको छैन र खेल्छु पनि भनेको छैन। हरेक वर्ष शरीरलाई फिट राख्न १५ प्रतिशत बढी मिहिनेत गर्नुपर्छ।’

आईपीएल २०२५ को सिजनमा सीएसके को प्रदर्शन कमजोर रहेको थियो। टोलीले १४ मध्ये केवल चार खेल जितेर अंक तालिकाको अन्तिम स्थानमा रहेको थियो।

ऋतुराज गायकवाड घाइते भएपछि धोनीले बीचमै कप्तानी सम्हालेका थिए र १३ पारीमा १९६ रन बनाएका थिए।

धोनीको कप्तानीमा चेन्नईले ५ पटक (२०१०, २०११, २०१८, २०२१ र २०२३) आईपीएल को उपाधि जितेको छ। उनी आईपीएल मा १०० भन्दा बढी खेल जित्ने एकमात्र कप्तान हुन्।

धोनीले आईपीएलमा सबैभन्दा धेरै २७८ खेल खेलेका छन्। जसबाट उनले पाँच हजार ४३९ रन बनाउनुका साथै विकेटकिपिङमा १५४ क्याच र ४७ स्टम्पिङ पनि गरेका छन्।

कात्तिक २०, २०८२ बिहीबार १४:२०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।