टिकटकमा चार नयाँ सुविधा थप : अब आफैँ लुक्नेछन् खराब कमेन्ट, लाइभमा पनि शब्द ब्लक गर्न सकिने
काठमाडौं : टिकटकले आफ्ना सिर्जनाकर्ता (क्रिएटर) हरूका लागि प्लेटफर्मलाई थप सुरक्षित बनाउन नयाँ सुविधाहरू सार्वजनिक गरेको छ।
यी सुविधाहरूले अनावश्यक र अपमानजनक कमेन्टहरूलाई नियन्त्रण गर्न तथा आफ्नो कन्टेन्टलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत गर्नेछन्।
टिकटकले क्रिएटर केयर मोडको सुविधा दिएको छ। यो सुविधा अन गरेपछि टिकटकले आफैँले खराब वा अपमानजनक कमेन्टहरूलाई लुकाइदिन्छ।
यसले सिर्जनाकर्ताले पहिले रिपोर्ट गरेका वा हटाएका कमेन्टहरूको आधारमा त्यस्तै प्रकारका अन्य नकारात्मक कमेन्टहरूलाई स्वचालित रूपमा फिल्टर गर्छ, जसले गर्दा कमेन्ट व्यवस्थापनमा समय खर्च हुँदैन।
लाइभ भिडियोका लागि पनि टिकटकले सुधारिएको टुल ल्याएको छ। अब लाइभ गर्ने व्यक्ति वा मोडरेटरले नचाहिने शब्द, वाक्यांश वा इमोजीहरूको सूची बनाउन सक्छन्। लाइभको क्रममा यदि कसैले ती शब्द प्रयोग गरेमा उक्त प्रयोगकर्ता तोकिएको समयका लागि आफैँ म्युट हुनेछ।
टिकटकले ल्याएको कन्टेन्ट चेक लाइट सुविधाले सिर्जनाकर्तालाई भिडियो पोस्ट गर्नुअघि नै त्यसले टिकटकको नियम मानेको छ कि छैन भनेर जाँच्न मद्दत गर्छ। यदि भिडियोमा कुनै समस्या भएर ‘फर यू’ पेजमा नदेखिने सम्भावना भएमा यसले पहिल्यै जानकारी दिन्छ।
यसका साथै, टिकटकले ‘क्रिएटर इनबक्स’ सुविधा पनि थपेको छ, जसले फ्यानहरूसँगको सन्देशलाई व्यवस्थित गर्न र छिटो जवाफ दिन सघाउँछ। टिकटकले यी नयाँ सुविधाहरूले सिर्जनाकर्ताहरूलाई आफ्नो अनलाइन उपस्थिति सुरक्षित र प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिएको जनाएको छ।
कात्तिक २०, २०८२ बिहीबार १३:४३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।