बाबुरामको अग्रसरतामा रास्वपा, जनार्दन र विवेकशीलसहितको नयाँ राजनीतिक मोर्चा बनाउने प्रयास

बाबुरामको अग्रसरतामा रास्वपा, जनार्दन र विवेकशीलसहितको नयाँ राजनीतिक मोर्चा बनाउने प्रयास

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रसरतामा नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकजुट गराउने प्रयास सुरु भएको छ।

जेन-जी विद्रोहपछिको बदलिँदो राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै बलियो वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले बिहीबार विभिन्न दल तथा समूहका नेताहरूबीच छलफल भएको हो।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), हालै माओवादी छाडेका जनार्दन शर्मा र सुदन किरातीको समूह, विवेकशील साझा लगायतका नेताहरू सहभागी थिए।

छलफलमा सहभागी नेता सुदन किरातीका अनुसार, डा. भट्टराईले जेनजी विद्रोहपछि दुलामा लुकेका पुराना भ्रष्ट शक्तिहरूले फेरि टाउको उठाउन खोजेको भन्दै उनीहरूलाई निर्वाचनबाटै परास्त गर्न नयाँ शक्तिहरू एकजुट हुनुपर्ने प्रस्ताव राखेका थिए।

‘जनतामा बढ्दो निराशालाई सम्बोधन गर्न नसके देशमा ठूलो खतरा आउन सक्छ,’ भट्टराईको भनाइ उद्धृत गर्दै किरातीले भने, ‘सानातिना स्वार्थ त्यागेर सम्पूर्ण नयाँ शक्ति एक ठाउँमा आएर निर्वाचनमा जानुपर्छ।’

नयाँ बानेश्वरमा भएको उक्त छलफलमा डा. भट्टराईसहित रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, प्रगतिशील अभियानका नेताहरू जनार्दन शर्मा र सुदन किराती, विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा, नेसपा नयाँ शक्तिकी उपाध्यक्ष मानुषी यमी भट्टराई, उज्यालो नेपाल अभियानका नेताहरू लगायतको उपस्थिति थियो।

भट्टराईको प्रस्तावलाई सबै सहभागीले सकारात्मक रूपमा लिएको र भविष्यमा छलफललाई निरन्तरता दिने सहमति भएको बताइएको छ।

भट्टराईको सचिवालयले छलफलको उद्देश्य ‘व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो र बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्नु’ रहेको जनाएको छ।

छलफल सकिएलगत्तै भट्टराईको पार्टीले ‘जेन जी’का  प्रतिनिधिहरूसँग पनि संवाद गरेको थियो।

कात्तिक २०, २०८२ बिहीबार १३:१४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।