आईपीएल च्याम्पियन आरसीबी बिक्रीमा, डियाजियोले फ्रेन्चाइज बेच्ने प्रक्रिया थाल्यो

आईपीएल च्याम्पियन आरसीबी बिक्रीमा, डियाजियोले फ्रेन्चाइज बेच्ने प्रक्रिया थाल्यो

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) र महिला प्रिमियर लिग (डब्लुपीएल) विजेता टोली रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)को मालिक, बहुराष्ट्रिय कम्पनी डियाजियोले फ्रेन्चाइजमा रहेको आफ्नो हिस्सेदारी बेच्ने पहिलो कदम चालेको छ।

बुधबार भारतको बजार नियामक निकाय, सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डियामा एक सूचना दर्ता गर्दै डियाजियोले आरसीबीमाथिको आफ्नो लगानीको ‘रणनीतिक समीक्षा’ गरिरहेको जनाएको छ। यो समीक्षा ३१ मार्च २०२६ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ।

डियाजियोको स्वामित्वमा रहेको युनाइटेड स्पिरिट्सका सीईओ प्रवीण सोमेश्वरले भने, ‘आरसीबी हाम्रो लागि एक मूल्यवान र रणनीतिक सम्पत्ति हो, तर यो हाम्रो मुख्य व्यवसाय (रक्सी तथा पेय पदार्थ)को हिस्सा होइन।’

यो कदमले डियाजियो आफ्नो मुख्य व्यवसायमा मात्र केन्द्रित हुन चाहेको संकेत गर्छ। पछिल्लो समय कम्पनीले विश्वव्यापी रूपमा आफ्नो मुख्य व्यवसायमा संघर्ष गरिरहेको छ। यसअघि कम्पनीले आरसीबी बेच्न लागेको खबरलाई ‘अड्कलबाजी’ भन्दै अस्वीकार गरेको थियो, तर अहिले कम्पनीको धारणा बदलिएको देखिन्छ।

कम्पनीले यो निर्णयले आउँदै गरेको आईपीएल र डब्लुपीएल सिजनका लागि टोलीको तयारी, खेलाडी लिलामी (अक्सन) वा अन्य कुनै पनि योजनामा तत्काल कुनै असर नपर्ने स्पष्ट पारेको छ। कुनै पनि नयाँ मालिकले आईपीएलबाट स्वीकृति लिनुपर्ने हुनाले बिक्री प्रक्रिया सन् २०२६ को आईपीएल सिजनभन्दा पछि जान सक्ने अनुमान छ।

आरसीबी सन् २००८ मा आईपीएल शुरू हुँदा दोस्रो सबैभन्दा महँगो फ्रेन्चाइज थियो। यसलाई तत्कालीन मालिक विजय माल्याले सन् २००७ मा १११.६ मिलियन अमेरिकी डलरमा किनेका थिए। सन् २०१६ मा माल्या बाहिरिएपछि डियाजियोले यसको पूर्ण स्वामित्व लिएको थियो। आरसीबीले गत सिजन आफ्नो पहिलो आईपीएल उपाधि जितेको थियो।

कात्तिक २०, २०८२ बिहीबार १०:३४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।