अफगानिस्तानको एक कप चियाको मूल्य महंगो पर्‍यो : पाकिस्तानी विदेशमन्त्री डार

अफगानिस्तानको एक कप चियाको मूल्य महंगो पर्‍यो : पाकिस्तानी विदेशमन्त्री डार

एजेन्सी : पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इशाक डारले तालिबानसँगको दोस्ती आफ्नो देशका लागि निकै महँगो साबित भएको बताएका छन्।

उनले अफगानिस्तानसँग जोडिएको आतंकवादका लागि पूर्वप्रधानमन्त्री इमरान खानको सरकारलाई जिम्मेवार ठहराउँदै एक पुरानो घटनाको स्मरण गराएका छन्।

डारका अनुसार, सन् २०२१ मा तत्कालीन आईएसआई प्रमुख जनरल फैज हमिद काबुल गएका थिए र त्यहाँ चिया पिउँदै ‘सबै ठीकठाक हुनेछ’ भनेका थिए।

डारले भने, ‘अफगानिस्तानमा पिइएको त्यही एक कप चियाको मूल्य देशले आजसम्म चुकाइरहेको छ।’

त्यो एक कप चिया...
अगस्ट २०२१ मा तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि पाकिस्तानी सेना र आईएसआईले उनीहरूलाई सहयोग गरेको आरोप लागेको थियो।

त्यसको केही समयपछि सेप्टेम्बर २०२१ मा आईएसआई प्रमुख फैज हमिद काबुलको सेरेना होटलमा तालिबान नेताहरूसँग चिया पिउँदै हाँसिरहेको तस्बिर सार्वजनिक भएको थियो।

त्यहाँ एक पत्रकारले प्रश्न सोध्दा उनले भनेका थिए, ‘चिन्ता नलिनुहोस्, सबै ठीक हुनेछ।’

यही घटनालाई संकेत गर्दै विदेशमन्त्री डारले पाकिस्तानको तत्कालीन सरकारको अदूरदर्शी नीतिको आलोचना गरेका हुन्।

डारले इमरान खानको सरकारमाथि गम्भीर आरोप लगाउँदै भने, ‘तालिबान सत्तामा आएपछि तत्कालीन सरकारले सिमाना खुला गरिदियो, जसकारण यहाँबाट भागेका करिब ३५ देखि ४० हजार आतंकवादीहरू पाकिस्तान फर्किए।’

उनका अनुसार, त्यतिबेला सरकारले पाकिस्तानको झण्डा जलाउने र सयौं नागरिकको ज्यान लिने आतंकवादीहरूलाई जेलबाट रिहा गरेको थियो। आज तिनै आतंकवादीहरू बलुचिस्तानमा भइरहेका हमलाका मुख्य योजनाकार बनेका छन्।

बिग्रँदो सम्बन्ध र सीमामा तनाव
एक समय तालिबानको समर्थन गरेको पाकिस्तान र अफगानिस्तानबीच अहिले सम्बन्ध चिसिएको छ।

सीमामा दुई देशका सेनाबीच बारम्बार झडपहरू भइरहेका छन्। गत महिना पाकिस्तानी हवाई हमलामा दर्जनौं मानिस मारिएपछि तालिबानले जवाफी कारबाही गरेको थियो।

दुई देशबीच लामो समयदेखि ‘डुरंड लाइन’ सीमा विवाद पनि छ र एक-अर्कालाई आतंकवादीलाई संरक्षण दिएको आरोप लगाउँदै आएका छन्।

ग्लोबल टेररिज्म इन्डेक्स २०२५ अनुसार, पाकिस्तान आतंकवादबाट सबैभन्दा बढी प्रभावित विश्वको दोस्रो देश बनेको छ। रिपोर्टअनुसार तहरिक-ए-तालिबान पाकिस्तानको हमलामा ९० प्रतिशतले वृद्धि भएको छ भने बलोच आर्मीको हमलामा ६० प्रतिशतले।

पाकिस्तानको खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्त सबैभन्दा बढी आतंक प्रभावित क्षेत्र बनेका छन्।

कात्तिक २०, २०८२ बिहीबार ०९:५०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।