कमजोर अभिनयले पहिलो फिल्मबाट हटाइएका थिए इमरान हाशमी, ‘सिरियल किसर’ ट्यागबाट निराश
एजेन्सी : इमरान हाशमी बलिउडका ती अभिनेता हुन्, जसले आफ्नो फरक शैली र कडा मिहिनेतले उद्योगमा छुट्टै पहिचान बनाएका छन्। ‘ब्याड ब्वाई’ को छविदेखि एक गम्भीर कलाकार बन्ने उनको यात्रा उतारचढावले भरिएको छ।
इमरानले सन् २००१ मा ‘ये जिन्दगीका सफर’ बाट अभिनय सुरु गरे पनि खराब व्यवहार र कमजोर अभिनयका कारण उनलाई फिल्मबाट निकालियो। यो घटनाले उनलाई आफूलाई सुधार्ने मौका दियो।
दुई वर्षपछि, सन् २००३ मा उनले ‘फुटपाथ’ फिल्मबाट आधिकारिक डेब्यु गरे। सुरुवाती दिनमा क्यामेरासँग डराउने इमरानले पहिलो फिल्मको एउटै सिनका लागि ४० पटकसम्म टेक लिनुपरेको थियो।
सन् २००४ मा आएको फिल्म ‘मर्डर’ उनको करियरका लागि कोशेढुङ्गा साबित भयो। फिल्ममा दिएका बोल्ड दृश्यहरूले उनलाई रातारात स्टार बनायो र उनीमाथि ‘सिरियल किसर’ को ट्याग लाग्यो। यो ट्यागले लामो समयसम्म उनलाई असहज बनाए पनि यही छविका कारण उनी दर्शकमाझ लोकप्रिय बने।
‘मर्डर’ पछि ‘जहर’, ‘आशिक बनाया आपने’ र ‘ग्याङ्स्टर’ जस्ता फिल्मले उनको लोकप्रियता बढायो। सन् २००८ को फिल्म ‘जन्नत’ भारतमा मात्र नभई पाकिस्तानमा पनि अत्यधिक सफल भयो।
म्याच फिक्सिङको कथामा आधारित यो फिल्म हेर्न लाहोरको एक सिनेमाघरमा यति धेरै भीड जम्मा भयो कि त्यहाँ भागदौडको स्थिति सिर्जना भएको थियो। यस फिल्मले पाकिस्तानमा उनका फ्यानहरूको संख्या ह्वात्तै बढायो।
‘सिरियल किसर’ र ‘ब्याड ब्वाई’ को छविबाट बाहिर निस्केर इमरान गम्भीर भूमिकामा देखिन चाहन्थे। उनले ‘शंघाई’ जस्ता फिल्ममा फरक प्रयास गरे, तर दर्शकले खासै रुचाएनन्। ‘राजा नटवरलाल’, ‘मिस्टर एक्स’ र ‘अजहर’ जस्ता फिल्महरू बक्स अफिसमा असफल भए, जसले गर्दा उनको करियरमा केही समय सुस्तता आयो।
सन् २०१४ मा इमरानको जीवनमा सबैभन्दा कठिन मोड आयो, जब उनका छोरा अयानलाई मिर्गौलाको क्यान्सर भएको पत्ता लाग्यो। यो खबरले उनको संसार केवल बाह्र घण्टामा बदलिएको थियो।
लगभग पाँच वर्षसम्म चलेको उपचारको क्रममा इमरान र उनकी पत्नी परवीनले कहिल्यै हार मानेनन्। सन् २०१९ मा अयान पूर्ण रूपमा क्यान्सरमुक्त भए। इमरानले छोराको यो संघर्षमा आधारित एउटा किताब पनि लेखेका छन्।
लामो समयको उतारचढावपछि इमरानले सलमान खानको फिल्म ‘टाइगर ३’ बाट दमदार पुनरागमन गरे। सुरुमा खलनायकको भूमिका गर्न हिचकिचाए पनि स्क्रिप्ट पढेपछि पात्रको गहिराइ देखेर उनी यो भूमिकाका लागि तयार भएका थिए। फिल्ममा उनको अभिनयको निकै प्रशंसा भयो।
उनी भन्छन्, ‘हरेक फिल्म मेरा लागि एउटा नयाँ पाठ हो। असफलता पनि आवश्यक छ, किनकि त्यसले अनुभव र साँचो सिकाइ दिन्छ। मेरो लागि सफलता त्यही हो, जब म हरेक दिन केही नयाँ सिक्छु।’
कात्तिक २०, २०८२ बिहीबार ०८:०५:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।