गोली चलाउन आदेश दिने र सिंहदरबार जलाउने छाडेर रविसँग जाँचबुझ आयोगको सात घण्टा बयान, रविले भने "समय आउँदैछ"

गोली चलाउन आदेश दिने र सिंहदरबार जलाउने छाडेर रविसँग जाँचबुझ आयोगको सात घण्टा बयान, रविले भने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले ‘जेन–जी आन्दोलन’का क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको विषयमा गठित जाँचबुझ आयोगसमक्ष विस्तृत बयान दिए।

गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले बुधवार दिउँसो १ बजे लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा लगेर सोधपुछ गरेको हो। आयोगले घटनाको परिस्थितिबारे केन्द्रित रहेर लामिछानेलाई लामो समयसम्म प्रश्न गरेको थियो।

बयानका क्रममा लामिछानेले आफू कारागारबाट बाहिर निस्कँदा त्यहाँका जेलरलाई नभेटेको र निस्कन अनुमति दिएको भनिएको पत्रबारे कुनै जानकारी नभएको दाबी गरे। उनले आफू निस्कँदा जेलर नभएको र त्यो पत्र कसरी तयार भएको थाहा नभएको दाबी गरे।

उनी जेलबाट बाहिर आएपछि आलोचना सुरु भयो। अनि उनी आफैले प्रक्रिया पुर्याएर आएको भन्दै कारागारको पत्र सार्वजनिक गरेका थिए जुन स्वाभाविक थिएन।

लामिछानेले उक्त पत्रबारे पछि मात्र सुनेको र त्यसअघि आफूलाई त्यसबारे कुनै जानकारी नभएको दाबी गरेका थिए।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते ‘जेन–जी आन्दोलन’का क्रममा कारागारभित्र सुरक्षा जोखिम बढेको भन्दै अन्य कैदी बन्दीसँगै बाहिर निस्किएका थिए। तर, पछि कारागार प्रशासनले उनलाई बाहिर निस्कन दिएको भनिएको पत्रको वैधानिकता र आधिकारिकतामाथि प्रश्न उठेपछि उनी पुनः कारागार फर्किएका थिए।

सोही घटनाको सत्यतथ्य पत्ता लगाउन गठित आयोगले यसअघि नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिइसकेको छ। जोशीले आयोगमा ‘आदेश आएपछि पत्र बनाएको’ बताएका थिए तर आदेश दिने व्यक्ति वा निकायको नाम खुलाएका थिएनन्।

आयोगको टोलीले घटनाको वस्तुस्थिति बुझ्न कारागारको स्थलगत अध्ययनसमेत गरिसकेको छ।

बयान सकिएपछि प्रहरी भ्यानबाटै सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै लामिछानेले भने, “अहिले केही छैन, समय आउँदैछ।”

रास्वपा सभापति लामिछानेमाथिको सोधपुछपछि आयोगले अब कारागार प्रशासन र आन्तरिक सुरक्षा निकायका थप अधिकारीहरूलाई पनि बयानका लागि बोलाउने तयारी गरेको बताइएको छ।

कात्तिक २०, २०८२ बिहीबार ००:२०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।