जितविहीन हुँदै टुङ्गियो नेपालको युएई शृङ्खला, अन्तिम खेलमा चार विकेटले हार्यो
काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको त्रिदेशीय शृङ्खलामा नेपाल जितविहीन बनेको छ।
बुधवार दुबईको युएईमा सम्पन्न अन्तिम खेलमा घरेलु टिम युएईसँगको चार विकेटको हारसँगै नेपालको यात्रा जितविहीन हुँदै टुङ्गिएको हो।
नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। युएईको जितमा मुहम्मद सहदादले सर्वाधिक ९६ रन बनाए। उनले १२३ बलमा ६ चौका र तीन छक्का प्रहार गरे।
यस्तै, मुहम्मद वसिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६ रन थपे। यी दुईले ६८–३ को स्थितिबाट १४७ रनको साझेदारी गर्दै युएईलाई जितनजिक पूर्याएका थिए।
साहेब खानले २९, कप्तान आलिसान सराफुले १८ र हर्षिक कौशिकले १३ रन बनाए। नेपालका करण केसीले तीन विकेट लिए। नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३९ रनको योगफल खडा गरेको थियो।
युएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । ६८ बल खेलेका उनले सात चौका प्रहार गरे। मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए।
ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३७ रन थप्दा आरिफ सेखको नाममा ३० रन रह्यो। १०औँ नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछाने अविजित १५ रन जोडे।
कुशल मल्ल र सन्दीप लामिछाने नवौँ विकेटका निम्ति ४२ रनको साझेदारी गरेका थिए। यो शृङ्खलाको यसअघिका तीन खेलमा नेपालले नेपालले अमेरिकासँग १०६, दोस्रो खेलमा युएईविरुद्ध पाँच र तेस्रो खेलमा पुनः अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो।
कात्तिक १९, २०८२ बुधबार १९:५४:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।