भ्रष्टाचारको अभियोगमा धरौटीमा रहेका माधवको जेन-जी पुस्तालाई अनुरोध 'मिलेर भ्रष्टाचार अन्त्य गरौँ'
काठमाडौं : आठ कम्युनिस्ट पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको घोषणा सभामा सहसंयोजक बनेका माधवकुमार नेपालले जेन-जी पुस्तालाई भ्रष्टाचार, राजनीतिक विकृति, विसङ्गति अन्त्यका लागि हातेमालोका लागि आह्वान गरे। बुधवार भृकुटीमण्डपमा आयोजित पार्टी एकता घोषणामा बोल्दै उनले आजैमात्र केही जेनजी नयाँ पार्टीमा भित्र्याएको दाबी समेत गरे।
"आउनुहोस् हातेमालो गर्दै अगाडि बढौँ। सुशासनको पक्षमा होस्, भ्रष्टाचारको अन्त्य, जनताको जीवनमा परिवर्तन गर्ने, समाजको विकृति विसङ्गति, राजनीतिमा देखिएका विकृतिको अन्त्य, सबै कुरामा हातेमालो गरौँ,’ उनले भने।
जेन-जी पुस्तालाई भ्रष्टाचार विरुद्ध उभिन आव्हान गर्ने नेपाल आफैँ भने प्रधानमन्त्री पदमा रहँदा सरकारी जग्गा निजी कम्पनी पतञ्जलिलाई किनबेच गर्न दिएर भ्रष्टाचार गरेको मुद्दाका अभियुक्त हुन्। उनी यही मुद्दामा विशेष अदालतबाट धरौटीमा रिहा भएका छन्। भ्रष्टाचारको अभियुक्त भए पनि उनले आफू सह-संयोजक भएको पार्टीमा आएर भ्रष्टाचार विरुद्ध लड्न जेन-जी पुस्ताका सदस्यहरूलाई अनुरोध गरेका थिए।
बुधवार माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका आठ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको घोषणा गरिएको थियो।
कात्तिक १९, २०८२ बुधबार १९:४०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।