भीम सार्की र कुशल मल्लको योगदानमा नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य
दुबई : दुबईमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको महत्वपूर्ण खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि २४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको सम्मानजनक योगफल तयार पारेको हो।
नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान भीम सार्कीले सर्वाधिक ४८ रनको योगदान दिए भने कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै ४५ रन जोडे।
आईसीसी एकेडेमीको मैदानमा नेपालले खराब सुरुवात गरेको थियो। ओपनर कुशल भुर्तेल जम्मा २ रन बनाएर आउट हुँदा नेपालले ४ रनमा पहिलो विकेट गुमायो।
त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र भीम सार्कीले ७४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ्स उकासेका थिए। आसिफ ३४ रन बनाएर रनआउट भए।
मध्यक्रममा नेपालले लगातार विकेट गुमाएपछि दबाबमा आएको थियो। कप्तान रोहित पौडेल २ रनमा आउट भए भने उत्कृष्ट ब्याटिङ गरिरहेका भीम सार्की अर्धशतकबाट मात्र २ रनले चुके। उनले ६८ बलमा ७ चौकासहित ४८ रन बनाए।
त्यसपछि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि ४९ रनको साझेदारी गरे। दीपेन्द्रले ३७ र आरिफले ३० रनको योगदान दिए।
अन्त्यतिर कुशल मल्लले ब्याटिङ गर्दै मात्र ५१ बलमा १ चौका र ३ छक्कासहित ४५ रन जोडेपछि नेपाल सम्मानजनक स्कोरतर्फ अघि बढेको थियो। सन्दीप लामिछानेले अविजित १५ रन र ललित राजवंशीले अविजित ४ रन बनाउँदै इनिङ्स समाप्त गरे।
यूएईका लागि ध्रुव पराशर र जुनैद सिद्दिकीले उत्कृष्ट बलिङ गरे।
पराशरले १० ओभरमा मात्र २८ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। त्यसैगरी, जुनैद सिद्दिकीले १० ओभरमा ३६ रन दिएर २ विकेट हात पारे। मोहम्मद जवाद्उल्लाहले पनि २ विकेट लिए तर उनी केही महंगा साबित भए।
अब यूएईले यो खेल जित्नका लागि ५० ओभरमा २४० रन बनाउनुपर्नेछ।
कात्तिक १९, २०८२ बुधबार १५:१९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।