ओभरहाइपको खाडलमा जाकिएको नेपाली क्रिकेट, १२ दिनको ‘जय ट्रफी’ देखाएर ‘फुल मेम्बर’को धोको

ओभरहाइपको खाडलमा जाकिएको नेपाली क्रिकेट, १२ दिनको ‘जय ट्रफी’ देखाएर ‘फुल मेम्बर’को धोको
तस्बिरहरू- नेपाल क्रिकेट संघ क्यान

काठमाडौं : नेपालमा क्रिकेटको चर्चा र लोकप्रियता पछिल्ला वर्षहरूमा उत्कर्षमा छ। सामाजिक सञ्जालदेखि चिया पसलसम्म, सडकदेखि सदन हुँदै प्रधानमन्त्री निवाससम्म पनि नेपाली क्रिकेटले हासिल गरेका सफलता र भविष्यका सम्भावनाबारे बहस सुनिन्छ।

तर, के हाम्रो क्रिकेट साँच्चै हामीले चर्चा गरेजत्तिकै बलियो छ त? वा हामी एउटा यस्तो ‘ओभर हाइप’को ह्याङमा छौँ, जसले हामीलाई हाम्रा प्रणालीगत समस्याहरू भुलाइदिएको छ? यो चर्चाको पछाडि लुकेको यथार्थ, खेलको संरचना, खेलाडी उत्पादनको प्रक्रिया र नेतृत्वको अवस्था कस्तो छ? यसैबारे केलाउने प्रयास गरौँ।

ध्वस्त संरचना
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान। यो केवल एउटा खेल मैदान होइन, यो नेपाली क्रिकेटको एक जिउँदो सङ्ग्रहालय हो। सन् १९९८ मा भएको एसीसी ट्रफीमा बङ्गलादेश र सिङ्गापुरको खेल खेलाउनका लागि अन्तर्राष्ट्रिय मान्यता पाएको यो मैदानमा प्याराफिट बन्न र फ्लडलाइट जडान हुन २७ वर्ष लाग्यो।

ड्रेसिङ रुम, समर्थकका लागि पर्याप्त र न्यूनतम सुविधासहितका शौचालय, भीआईपी प्याराफिट, मिडिया बक्स, अम्पायर रुम, टेलिभिजन प्रोडक्सन लगायतका अन्तर्राष्ट्रिय स्तरका संरचना अझै साँघुरा कोठामा सीमित छन्।

सन् २०२५ सम्म आइपुग्दा नेपालसँग कागजमा दुईवटा ओडीआई मान्यताप्राप्त अन्तर्राष्ट्रिय मैदान छन्- कीर्तिपुरको ऐतिहासिक मैदान र मुलपानीको माथिल्लो मैदान।

माथिल्लो मैदानको अवस्था पनि उस्तै छ। बल्लतल्ल मैदानमा केही खेलहरू हुन थालेका छन्, तर समर्थकले बसेर खेल हेर्नका लागि उचित स्थान अझै छैन। नेपाल र यूएईबीचको टी-२० विश्वकप छनोटको खेलमा समर्थकहरू सडक किनार र घरको छतमा बसेर जोखिम मोल्दै खेल हेर्न बाध्य भए।

मुलपानी मैदानमा नेपालले अन्तर्राष्ट्रिय खेल खेल्दैछ भन्नेबित्तिकै त्यहाँको सुरक्षा व्यवस्थापन सुरक्षा निकायका लागि टाउको दुखाइको विषय बन्ने गर्छ। समर्थकको थामिनसक्नु भीड सम्हाल्नु सुरक्षा निकायका लागि ठूलो चुनौती बन्न जान्छ।

त्यसभन्दा पनि दुःखद र नेपालको क्रिकेट प्रणालीकै सबैभन्दा ठूलो मजाक बनेको छ- तल्लो मुलपानी क्रिकेट रङ्गशाला। यो नामको मात्र रङ्गशाला हो। न समर्थकका लागि बस्ने सिट छ, न त खेलाडी र अम्पायरका लागि उचित संरचना नै। खेल्नका लागि मैदान त छ, तर त्यो पनि उपयुक्त ड्रेनेज सिस्टमबिनाको, जहाँ पानी परेर रोकिएको पाँच घण्टासम्म पनि खेल सुचारु हुन सक्दैन।

सन् २०२५ मै आईसीसी यू-१९ विश्वकप छनोट जस्तो प्रतिष्ठित प्रतियोगिता आयोजना भयो, तर नेपाल र अफगानिस्तानबीचको फाइनल खेल मैदानको खराब अवस्थाका कारण हुन सकेन। बिहान परेको पानी नौ बजे नै रोकिँदा समेत गतिलो ड्रेनेज सिस्टम नहुँदा दिउँसो दुई बजेसम्म पनि खेल सुरु हुन सकेन, जसको मूल्य १९ वर्षमुनिको नेपाली राष्ट्रिय टोलीले चुकाउनुपर्यो।

नेपालका कुनै पनि मैदानमा ठूलो पानी परेर रोकिँदा तत्काल खेल गराउन सक्ने क्षमता छैन। त्यस्तो किसिमको ड्रेनेज सिस्टम कुनै पनि मैदानमा प्रयोग भएकै छैन। सबैभन्दा पुरानो त्रिवि क्रिकेट मैदानमा पनि ठूलो पानी परेको अवस्थामा खेल रोक्नैपर्ने अवस्था छ। आउटफिल्ड र पिच छिटो सुकाउने उपकरण छैनन्।

यो मैदानमा सरकारले नियमित बजेट विनियोजन गरे पनि त्यसअनुसारको काम हुन सकेको छैन। वर्षौंदेखि बनेका संरचना नियमित मर्मतको अभावमा जीर्ण बन्दै गइरहेका छन्। यू-१९ विश्वकप छनोटका लागि जति संरचना बनाइए, तिनको समेत मर्मत हुन सकेको छैन। संरचना गतिलो नहुँदा यो मैदानमा ठूलो प्रतियोगिता अहिलेसम्म आयोजना हुन सकेको छैन।

यसबाहेक, पूर्वदेखि पश्चिमसम्म एउटा निजीसहित १३ वटा राष्ट्रिय प्रतियोगिता खेल्न मिल्ने क्रिकेट मैदान छन्। निजी क्षेत्रले सञ्चालनमा ल्याएको रुपन्देहीको तिलोत्तमामा रहेको एक्स्ट्राटेक क्रिकेट मैदानबाहेक अन्य मैदानहरूको मर्मत कुनै प्रतियोगिता हुने बेलामा मात्र गरिन्छ।

वर्षाको समयमा त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान जसरी मर्मत भइरहेका छन्, प्रदेशमा रहेका मैदानहरूको नियमित मर्मत भएको छैन। मैदान मर्मतका लागि नेपाल क्रिकेट सङ्घ र यसका प्रादेशिक संरचनाहरूले उपकरण र कर्मचारीको पर्याप्त व्यवस्था गर्न नसकेको विषयलाई केन्द्रीय प्रवक्ता र प्रदेशका अध्यक्षहरूले पनि स्वीकार गर्छन्।

यसका अलावा, नेपाल क्रिकेटसँग खेलाडीहरूलाई प्राविधिक अनि मानसिक प्रशिक्षण दिनका लागि आवश्यक राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) तथा खेलाडीलाई चोटपटकपछि छिटो फर्काउन र दीर्घकालीन करियर बनाउन स्पोर्ट्स मेडिसिन, फिजियोथेरापी र रिह्याब सेन्टर छैन।

एनसीए उमेर समूहबाट प्रतिभा छनोट गरी व्यावसायिक क्रिकेटतर्फ लैजाने आधारशिला हो भने प्रशिक्षक, अम्पायर, फिजियो र एनालिस्ट तयार गर्ने संस्था पनि हो। एनसीए खेलाडी उत्पादन गर्ने कारखानाजस्तै हो, जसले राष्ट्रको क्रिकेटलाई दीर्घकालीन दिशातर्फ अघि बढाउँछ।

तर, नेपाल क्रिकेट सङ्घले आधिकारिक रूपमा स्थापना भएको घोषणा गरे पनि अहिलेसम्म यसले पूर्णता पाउन सकेको छैन। यसले गर्दा खेलाडी तथा अफिसियल उत्पादनमा समस्या भइरहेको छ भने चोटपटक लागेका खेलाडीले रिह्याबको सुविधा प्रयोग गर्न पाएका छैनन्। अहिलेको अवस्थामा खेलाडीहरूको प्रशिक्षण प्रायः त्रिवि क्रिकेट मैदान, म्यानपावरमा आधारित क्याम्प र वैदेशिक एक्सपोजरमा निर्भर छ।

रिह्याब सेन्टर नेपालमा विशेष रूपमा क्रिकेट-केन्द्रित छैन। चोटपटक लागेका खेलाडीले प्रायः सामान्य अस्पताल वा व्यक्तिगत फिजियोमा निर्भर रहनुपर्ने अवस्था छ। यस्तो अवस्थामा खेलाडीहरू गम्भीर चोटपटक लागेपछि मैदान फर्कने सम्भावना कम रहन्छ। यसको पछिल्लो उदाहरण हुन्- राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्युसमेत गरिसकेका खेलाडी सिद्धान्त लोहनी।

दुई वर्षअघि जनकपुरमा नेपाल क्रिकेट सङ्घको प्रादेशिक शाखा मधेश क्रिकेट सङ्घले आयोजना गरेको क्रिकेट प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा उनी गम्भीर घाइते भए। गम्भीर चोट लागेपछि उनको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार गरियो।

उपचारमा हालसम्म २० लाखभन्दा बढी खर्च भइसक्दा क्यानले मात्र एक लाख सहयोग गर्यो। पछि सार्वजनिक रूपमा प्रश्न उठेपछि लाज ढाक्नका लागि क्यानको बोर्ड बैठकले उनलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गर्यो।

अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेको खेलाडीले खेलकै क्रममा चोट लाग्दा समेत उपचार नपाइरहेको वर्तमान अवस्थामा ती खेलाडीलाई पुनः मैदानमा फर्काउन क्यानको पहल एकदमै कमजोर छ।

उपचारको क्रममा क्रिकेटर सिद्धान्त लोहनी

जब कि भारतमा भयानक कार दुर्घटनामा घाइते भएका ऋषभ पन्त अस्पतालको उपचारपछि बेङ्गलोरमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी र रिह्याब सेन्टरको सहयोगमा राष्ट्रिय टोलीमा फर्किएर खेलिरहेका छन्।

भारत मात्र नभएर अन्य एसोसिएट मुलुकहरूको अनुभव हेर्दा पनि उनीहरूले एनसीएलाई पहिलो प्राथमिकतामा राखेका छन्। यूएईमा दुबईस्थित आईसीसी एकेडेमी एसियाकै आधुनिक क्रिकेट सुविधा बनेको छ, जसले खेलाडीलाई इनडोर नेटदेखि लिएर फिटनेस, रिह्याब र डेटा एनालिटिक्ससम्म सेवा दिन्छ।

स्कटल्यान्डमा पर्फमेन्स एकेडेमीमार्फत खेलाडी विकासमा खेल विज्ञान र मानसिक कोचिङलाई जोड दिइन्छ। नेदरल्यान्ड्सले केएनसीबी एकेडेमी सञ्चालन गरेर ब्याट्सम्यान र फास्ट बलरलाई प्राविधिक सुधारतर्फ उन्मुख गराएको छ।

यस्तै, ओमानको मस्कटमा ओमान क्रिकेट एकेडेमी छ, जसले विश्वस्तरीय प्रशिक्षण सुविधा, नेट्स, फिटनेस सेन्टर र फिजियोथेरापी सेवा प्रदान गर्दछ। यहाँ राष्ट्रिय टोलीका फिजियो र खेलाडीहरूले प्रशिक्षणका साथै उपचार/पुनराभ्यास गर्न सक्ने सुविधा उपलब्ध छ।

तर, नेपालमा त्यस्तो कुनै पनि क्रिकेट एकेडेमी नै छैन। जसले गर्दा यहाँका खेलाडी उत्पादनका लागि निजी एकेडेमीहरूको भर पर्नुपर्ने अवस्था छ भने खेलाडीहरू चोटिल भएको अवस्थामा पनि पूर्ण रूपमा अस्पतालमै निर्भर रहनुपर्ने बाध्यता छ।

यसले नेपाली क्रिकेटको अहिलेको विकराल अवस्थाको चित्रण गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेर क्षणिक वाहवाही बटुल्न सक्ने क्रिकेट सङ्घसँग क्रिकेटलाई दिगो बनाउने र एकेडेमीमार्फत खेल प्रणालीलाई अझ बलियो बनाउने इच्छाशक्ति वा दूरदृष्टि नभएको देखिन्छ।

जब हामी आफूलाई आफ्नो तहका अन्य एसोसिएट देशहरू यूएई, ओमान वा स्कटल्यान्डसँग तुलना गर्छौं, तब हामी लाजले पानी-पानी हुनुपर्छ। उनीहरूले केवल मैदान बनाएनन्, त्यसलाई जीवन्त राख्ने, खेलाडी उत्पादन गर्ने र व्यावसायिक आयआर्जन गर्ने एउटा इकोसिस्टम नै निर्माण गरे।

हामीले भने मैदानलाई केवल राष्ट्रिय टोलीको अभ्यास र केही अन्तर्राष्ट्रिय खेलका लागि मात्र सीमित राख्यौँ। यो पूर्वाधारको दरिद्रता र व्यवस्थापकीय कमजोरीले हाम्रो क्रिकेटलाई कहिल्यै आत्मनिर्भर बन्न दिँदैन।

टी-२० मै रुमल्लिएको घरेलु संरचना, १२ दिनको ‘जय ट्रफी’ देखाएर ‘फुल मेम्बर’को धोको
भारतजस्ता पूर्ण सदस्य (Full Member) राष्ट्रमा आफ्ना देशका घरेलु खेलाडीलाई निरन्तर अभ्यासका लागि लामा स्वरूपका खेलहरू नियमित खेलाइन्छ।

टेस्ट क्रिकेटका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले रणजी ट्रफी, दिलिप ट्रफी र इरानी कप लगायतका प्रतियोगिताहरू तीन महिनाभन्दा बढी समयसम्म सञ्चालन गर्छ भने एकदिवसीय खेलका लागि विजय हजारे ट्रफी र देवधर ट्रफी अनि टी-२० का लागि इन्डियन प्रिमियर लिग (आईपीएल) र सैयद मुश्ताक अली ट्रफी आयोजना हुन्छ।

तर, नेपाली क्रिकेटको घरेलु संरचना नै खोक्रो र अत्यन्त कमजोर छ। आईसीसीको पूर्ण सदस्य बन्ने सपना बाँडिरहेको नेपाल क्रिकेट सङ्घले नेपालमा मल्टी डे क्रिकेट लाई प्राथमिकता दिएको छैन।

नेपाल सङ्घ र प्रादेशिक सङ्घहरूले टी-२० क्रिकेटलाई महत्त्व दिँदा मल्टी डे क्रिकेट र खेलाडीमा धैर्य गर्न सक्ने क्षमता हराउँदै गएको देखिन्छ, जसको प्रत्यक्ष असर नेपालले अहिले खेलिरहेको एकदिवसीय प्रतियोगिता आईसीसी विश्वकप क्रिकेट लिग-२ का खेलहरूमा पनि परेको छ।

गत वर्ष मधेश प्रदेशमा जम्मा १२ दिनको जय ट्रफी भयो, जसमा देशभरका जम्मा चार टिमको मात्र सहभागिता थियो भने जम्मा ६० खेलाडीले त्यसको अनुभव गर्न पाए। जब मल्टी डे प्रतियोगिता र खेल्ने अवसर नै क्यानले उपलब्ध गराउँदैन भने खेलाडीमा पिचमा टिकेर खेल्न सक्ने क्षमता र धैर्यता कसरी आउँछ?

यसका अलावा, क्यानले एकदिवसीय प्रतियोगिताको लागि भनेर मुख्य लिग प्रधानमन्त्री कप आयोजना गर्छ, जुन २१ दिनको हुन्छ, जुन एकदमै कम हो। यसबाहेक देशमा अन्य कुनै पनि एकदिवसीय प्रतियोगिता हुँदैनन्। प्रधानमन्त्री कपमा उत्कृष्ट भएका चार टोलीले मात्र जय ट्रफी खेल्न पाउँछन्। यसको अर्थ, २१ दिनको प्रतियोगितापछि देशका अधिकांश खेलाडी बेरोजगार हुन्छन्।

त्यसबाहेक क्यानले करिब एक महिनाको नेपाल प्रिमियर लिग आयोजना गर्छ, जसमा आठवटा फ्रेन्चाइजले १२० स्वदेशी खेलाडी लिएर खेल्ने गर्छन्। यो स्वदेशी खेलाडीको आम्दानीको मुख्य स्रोत हो भने टी-२० खेलाडीका लागि राष्ट्रिय टोलीमा पर्ने अवसरको रूपमा पनि हेरिन्छ।

तर, पहिलो सिजनको नेपाल प्रिमियर लिग नै अनलाइन जुवाको प्रचार थलो बन्यो भने अनियमितताको भुमरीमा समेत फस्यो। यसकारण नेपाल क्रिकेट सङ्घ र यसको गभर्निङ काउन्सिलविरुद्ध खेलकुद मन्त्रालय, विज्ञापन बोर्ड, राष्ट्रिय खेलकुद परिषद् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा परेको अवस्था छ।

एनपीएलको बाउन्ड्रीमा राखिएको अनलाइन जुवा कम्कपनी वुल्भ७७७न्यूजको कुसन।

पहिलो सिजनको नेपाल प्रिमियर लिग मात्र नभएर त्यसअघि भारतीय कम्पनीलाई ल्याएर गरिएको नेपाल टी-२० लिग पनि विवादबाट टाढा रहन सकेन।

सोही लिगमा भएको सट्टेबाजी र स्पट फिक्सिङको आरोपमा मोहम्मद आदिल आलम जस्ता प्रतिभावान् खेलाडी दुई वर्षसम्म नेपाली क्रिकेटको संरचनाबाट टाढा रहनुपर्यो भने अझै पनि लिग खेलेका खेलाडीले पारिश्रमिक समेत पाएका छैनन्।

यसका अलावा, नेपाल क्रिकेट सङ्घले आफूले सार्वजनिक गरेका क्यालेन्डर समेत राम्रोसँग पालना गर्न सकेको छैन, जसले गर्दा आफैँले समय तोकेका प्रतियोगिता समेत नियमित रूपमा भइरहेका छैनन्।

टेस्ट राष्ट्र बन्ने महत्त्वाकांक्षा राख्ने देशमा दुई-दिवसीय वा तीन-दिवसीय राष्ट्रिय प्रतियोगिताको अस्तित्व नै नहुनु आफैँमा एउटा ठट्टा हो। यो संरचनाले हामीलाई टी-२० का केही सनसनीपूर्ण क्षणहरू देला, तर यसले कहिल्यै पनि एक पूर्ण र परिपक्व क्रिकेट राष्ट्र बनाउने छैन।

खेलाडी उत्पादन प्रक्रिया
अन्य मुलुकहरूमा खेलाडी उत्पादन प्रणाली व्यवस्थित संरचना र दीर्घकालीन योजनामा आधारित हुन्छ। त्यहाँ उमेर-समूह स्तरदेखि नै खेलाडी छनोट प्रक्रिया सुरु हुन्छ र यू-१३, यू-१५, यू-१७, यू-१९ जस्ता प्रतियोगिताबाट आएका प्रतिभालाई राष्ट्रिय क्रिकेट एकेडेमी वा क्षेत्रीय एकेडेमीमा लगिन्छ।

यी एकेडेमीहरूले खेलाडीलाई प्राविधिक तालिम, फिटनेस, मानसिक तयारीदेखि लिएर डेटा एनालिटिक्स र आधुनिक खेल विज्ञानमार्फत सशक्त बनाउँछन्। चोटपटक परेका खेलाडीलाई तुरुन्तै रिह्याब सेन्टरमा पठाइन्छ, जसले उनीहरूको करियर दीर्घकालीन बनाउन मद्दत गर्छ। साथै, घरेलु क्रिकेट संरचना पनि अत्यन्तै सबल हुन्छ।

क्लब र फ्रेन्चाइज लिगमार्फत खेलाडीलाई निरन्तर प्रतिस्पर्धाको अवसर मिल्छ, जसले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न तयार पार्छ। यसरी व्यवस्थित घरेलु प्रतियोगिता र एकेडेमीबीचको समन्वयले खेलाडी उत्पादनलाई नियमित बनाइदिन्छ, जसको परिणामस्वरूप कुनै देश एक-दुई स्टार खेलाडीमा मात्र निर्भर रहँदैन, निरन्तर नयाँ पुस्ता तयार भइरहन्छ।

नेपालमा भने खेलाडी उत्पादन अझै धेरै हदसम्म व्यक्तिगत प्रयास र संयोगमा आधारित छ। यू-१६ र यू-१९ स्तरका प्रतियोगिता भए पनि ती नियमित छैनन् र एकेडेमीमार्फत निरन्तर तालिम दिने प्रणाली व्यवस्थित देखिँदैन।

राष्ट्रिय क्रिकेट एकेडेमी नहुँदा त्यसको प्रत्यक्ष मार नेपाली क्रिकेटमा परेको छ। विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता नगन्य छन्। जिल्ला क्रिकेट सङ्घहरूले पालिकाहरूसँग समन्वय गरेर विद्यालय तहमा यस्ता प्रतियोगिता आयोजना गर्न सक्ने भए पनि उनीहरू केन्द्रकै मुख ताकेर बस्ने रोग नयाँ होइन।

मलेसियामा भएको यु१६ इस्ट जोन प्रतियोगितामा नेपाली टोली।

यसका अलावा, नेपाली क्रिकेटको घरेलु संरचना अझै कमजोर छ। नियमित फ्रेन्चाइज लिग नभएकाले खेलाडीले वर्षैपिच्छे निरन्तर अवसर पाउँदैनन्; उनीहरू विभागीय टिम वा अस्थायी टुर्नामेन्टको अभ्यासमा सीमित रहनुपर्छ। यसले प्रतिभा देखिए पनि निरन्तर खेल र प्रतिस्पर्धाको अभावमा उनीहरू थप परिष्कृत हुन सकिरहेका छैनन्।

स्कुल वा क्लब स्तरबाट खेलाडी उत्पादन गर्ने प्रणाली पनि सशक्त नभएकाले धेरैजसो खेलाडी आफ्नै मेहनत, व्यक्तिगत प्रशिक्षण वा अवसरको संयोगमा मात्र माथि आउन सफल हुन्छन्। अझ महत्त्वपूर्ण कुरा, चोटपटकपछि खेलाडीले क्रिकेटमैत्री पुनःस्थापना सुविधा नपाउने हुँदा कतिपयको करियर छोटिन बाध्य छ।

नेपाली क्रिकेटमा ‘प्राकृतिक प्रतिभा’को कथा सुनाएर हाम्रो प्रणालीगत असफलतालाई ढाकछोप गर्ने एउटा चलन बसेको छ। सन्दीप लामिछाने वा दीपेन्द्रसिंह ऐरीको सफलता नेपाली क्रिकेट प्रणालीको उत्पादन होइन; यो त प्रणालीविहीनताको खाडलबाट संयोगले उम्कन सफल भएका केही प्रतिभाहरूको व्यक्तिगत विजय हो।

नेपाली मुख्य टोलीको आधार स्तम्भ तथा बेन्च स्ट्रेन्थ मानिएको टोली हो नेपाल ‘ए’। तर, यो टोलीले अहिलेसम्म नियमित प्रतियोगिता पाएको छैन।

सन् २०२४ मार्चमा आयरल्यान्डको उल्भ्स टोलीसँग खेलेपछि यो टोलीले २०२५ को अगस्टमा आसामसँग पाँच खेलको टी-२० सिरिज खेल्नेछ। यसबीचमा नेपाल ‘ए’ टोलीको कुनै प्रतियोगितामा सहभागिता भएन। पर्याप्त खेलको अवसर नै नपाउँदा ‘बेन्च स्ट्रेन्थ’ भनिएको टोली कसरी बलियो र परिपक्व बन्ला?

यसका अलावा, नेपालको उमेर समूहको क्रिकेटलाई पनि सङ्घले खासै चासो दिएको देखिँदैन। यू-१९ विश्वकप आउनु केही महिनाअघि मात्र टोलीको खोजी सुरु हुन्छ।

यो कुनै विकास प्रणाली होइन; यो त एउटा ‘इभेन्ट-केन्द्रित रियालिटी शो’ हो, जहाँ केही भाग्यमानी खेलाडीले अवसर पाउँछन्। त्यस्ता खेलाडीलाई एक महिना क्याम्पमा राखिन्छ र प्रतियोगिता सकिएपछि उनीहरू पुनः सिनियर टिमले पाएको सफलताको छायाँमा हराउँछन्।

यो रोग यू-१९ मा मात्र सीमित छैन, यो त यू-१६ सम्म फैलिएको छ। केही समयअघि नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जित्यो। त्यो जितको उत्सव मनाइयो, खेलाडीलाई सम्मान गरियो। तर त्यसपछि के भयो? त्यो कप जितेका किशोरहरू आज कहाँ छन्?

उनीहरूका लागि क्यानले कुन विशेष तालिम, एक्सपोजर टुर वा विकास कार्यक्रम बनायो? जवाफ हो- केही पनि गरेन। जितलाई विकास प्रक्रियाको सुरुवात होइन, अन्त्य मान्ने यो घातक सोचले हाम्रो प्रतिभाको जरालाई नै मरुभूमिमा परिणत गरिरहेको छ।

महिला क्रिकेटको संस्थागत अपहेलना
यदि नेपाली क्रिकेटको असफलताको अर्को कुनै पीडादायी उदाहरण छ भने, त्यो महिला क्रिकेटको अवस्था हो। यो केवल उपेक्षा मात्र होइन, यो संस्थागत विभेदको नग्न प्रदर्शन हो। पुरुष क्रिकेटको चर्चाले महिला क्रिकेट सधैँ छायामा पर्ने गरेको छ।

पुरुष टोलीका लागि अपर्याप्त भए पनि केही लिग र प्रतियोगिता हुँदा, महिला टोलीका लागि क्यानले वर्षमा दुई वटा मात्र टी२० प्रतियोगिता आयोजना गर्छ- ललितपुर मेयर कप र महिला प्रधानमन्त्री कप। यी प्रतियोगिताको अवधि बढीमा एक महिना हो। यो एक महिना खेलेका खेलाडीले बाँकी समय कुनै पनि प्रतियोगिता पाउनु समुद्रमा सियो खोज्नुसरह हो।

पछिल्लो वर्ष नेपाल क्रिकेट सङ्घकै आयोजनामा थाइल्यान्ड, नेदरल्यान्ड्स र नेपाल सम्मिलित टी-२० सिरिज भयो। क्रिकेटलाई चलायमान राख्नका लागि त्यो सिरिज आयोजना गरिएको थिएन, त्यो त विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाली महिला क्रिकेट टोलीलाई तयार पार्नु थियो।

कुनै प्रतियोगिताको तयारीबाहेक नेपाली महिला क्रिकेट टोलीको क्याम्प हत्तपत्त लाग्दैन। क्यानले उनीहरूलाई नियमित अभ्यासका लागि प्रोत्साहित गरेको देखिँदैन। महिलाहरूका लागि वर्षमा जेनतेन एउटा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने गरिएको छ।

विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएर आएको लामो समय बितिसक्दा पनि राष्ट्रिय महिला टोलीका खेलाडीहरूलाई नियमित अभ्यास गराइएको छैन। एक महिनाअघि मलेसियासँगको पाँच खेलको टी-२० सिरिज भए पनि वार्षिक क्यालेन्डरमै तोकिएको भुटान टुरको बाचा क्यानले पूरा गर्न सकेन।

महिला राष्ट्रिय खेलाडीहरूको तलब, सुविधा, पुरस्कार राशि र अन्तर्राष्ट्रिय एक्सपोजर सबै पुरुषको तुलनामा कम छ। कुनै समय पुरुष टोलीभन्दा पहिला विश्वकप खेल्ने क्षमता राख्ने भनिएको महिला क्रिकेटको त्यो सम्भावना क्रिकेट नेतृत्वको अकर्मण्यताको सिकार बन्यो।

अनेकौँ चुनौती र विभेदका बाबजुद हालै महिला टोलीले ग्लोबल छनोटमा पुगेर जुन ऐतिहासिक सफलता हासिल गर्यो, त्यो खेलाडीहरूले गरेको एक साहसिक विद्रोह हो। उनीहरूको सफलताले प्रणालीलाई सम्मान होइन, बरु ऐना देखाउँछ र अझ ठूलो स्वरमा प्रश्न गर्छ- ‘यदि हामीले यति थोरै अवसरमा यति गर्न सक्छौँ भने, सोच्नुहोस्, बराबर अवसर पाएको भए कहाँ पुग्थ्यौँ?’

महिला टोलीले लगातार एसियाली स्तरका प्रतियोगितामा भाग लिँदै आएको छ र नेपाललाई प्रतिनिधित्व गर्दै उपाधि नजिते पनि सम्भावना देखाउन सफल भएको छ। तर, महिला क्रिकेट अझै पनि असमान अवसर र कमजोर संरचनासँग जुधिरहेको छ। खेलाडी छनोट र प्रतिभा विकासका लागि व्यवस्थित एकेडेमी नभएको कारण धेरै प्रतिभावान् किशोरीहरू खेलमा निरन्तर टिक्न सक्दैनन्।

घरेलु स्तरमा महिला क्रिकेट प्रतियोगिता अनियमित हुन्छन्, जसले गर्दा निरन्तर प्रतिस्पर्धाको वातावरण बनेको छैन। खेलाडीहरू विभागीय क्लब वा केही प्रादेशिक प्रतियोगितामा मात्र सीमित हुने अवस्था छ। यसका साथै, महिला खेलाडीहरूको लागि रोजगारी र करियरको ग्यारेन्टी नहुँदा खेललाई दीर्घकालीन रूपमा अङ्गाल्ने चुनौती थपिएको छ।

प्रतिभाको अवमूल्यन र पलायनको पीडा
चर्चाको शिखरमा रहेका नेपाली क्रिकेटरहरूको जीवनको अर्को पाटो अत्यन्तै अँध्यारो छ, र त्यो हो- आर्थिक असुरक्षा र त्यसबाट उत्पन्न पलायनको पीडा। यो नेपाली क्रिकेटको नियमित व्यथा हो, जसले यसलाई भित्रभित्रै कमजोर बनाइरहेको छ, तर बाहिरको ‘हाइप’को पट्टीले त्यसलाई छोप्ने प्रयास भइरहेको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेलाडीहरूलाई ‘ए’, ‘बी’, ‘सी’ ग्रेडमा वर्गीकरण गरेर मासिक पारिश्रमिक दिने व्यवस्था गरेको छ। तर, यो पारिश्रमिकको रकम खास छैन। ‘ए’ ग्रेडको खेलाडीले पाउने रकमले काठमाडौंजस्तो शहरमा एउटा सामान्य परिवार जेनतेन चल्न सक्छ। यो रकमले उनीहरूको नियमित पोषण, फिटनेस र व्यक्तिगत प्रशिक्षणको खर्च धान्न सक्दैन।

खेलाडीहरू आफ्नो आयका लागि क्यानको तलबभन्दा बढी फ्रेन्चाइज लिग र विज्ञापनमा निर्भर हुनुपर्ने बाध्यता छ। यसले उनीहरूको ध्यान र प्राथमिकतालाई राष्ट्रिय कर्तव्यबाट अन्यत्र मोड्ने खतरा बढाएको छ। जब राष्ट्रको क्रिकेट बोर्डले नै आफ्ना खेलाडीलाई आर्थिक सुरक्षा दिन सक्दैन, तब खेलाडीले वैकल्पिक बाटो रोज्नु अस्वाभाविक होइन।

 नेपालमा भविष्य नेदेखर अष्ट्रेलिया गएका किशोर महतो।

यद्यपि, सेन्ट्रल कन्ट्र्याक्टमा परेका महिला र पुरुष गरी ६० जनाबाहेकका खेलाडी अहिले पनि आर्थिक सुरक्षा र भविष्यको ग्यारेन्टी खोजिरहेका छन्। जब प्रणालीले प्रतिभाको सम्मान गर्न सक्दैन र भविष्यको ग्यारेन्टी दिन सक्दैन, तब प्रतिभा पलायन हुन्छ। उसले पनि आफ्नो र आफ्नो परिवारको भविष्य सुरक्षित गर्नैपर्यो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका वसन्त रेग्मी, पृथु बाँस्कोटा, किशोर महतो, नरेश बुढायर लगायतका खेलाडी यसका सबैभन्दा ठूला र प्रतीकात्मक उदाहरण हुन्। आफ्नो करियरको उत्कर्षमा रहेका बेला, नेपाली क्रिकेटलाई अझै धेरै दिन सक्ने क्षमता हुँदाहुँदै उनीहरू आफ्नो परिवारको ‘स्थिर भविष्य’ का लागि विदेशिएका हुन्।

जब राष्ट्रिय टिममा खेलिरहेका यस्ता खेलाडीहरूले नै देशको क्रिकेट प्रणालीमा आफ्नो भविष्य देख्दैनन् भने, उदीयमान खेलाडीले कसरी देख्छन्? कतिपयले नन्दन यादवको कुरा पनि निकाल्न सक्छन्। तर, उनी पनि एक समय विदेशिएकै खेलाडी हुन्। तर उनी बिचमा स्वदेश फर्किएर राष्ट्रिय टिममा कमब्याक गर्ने अपवाद खेलाडी बने।

युएईमा नन्दन यादव।

राष्ट्रिय टिममा खेलिसकेका र घरेलु क्रिकेटका कयौँ प्रतिभाशाली खेलाडीहरूले नेपालमा भविष्य नदेखेर अस्ट्रेलियाका क्लबहरूमा खेल्न र आफ्नो जीवनयापन गर्न थालेका छन्। यसले नेपाली क्रिकेटको ‘बेन्च स्ट्रेन्थ’लाई खोक्रो बनाइरहेको छ।

​​​‘ओभर हाइप’को महामारी : भ्रमको व्यापार र पतनको जोखिम
नेपाली क्रिकेट एउटा अनौठो र खतरनाक महामारीको चपेटामा छ- ‘ओभर हाइप’को महामारी। यो महामारीले हामीलाई क्षणिक आनन्दको भ्रम दिन्छ, तर दीर्घकालमा नेपाली क्रिकेटको प्रतिरक्षा प्रणालीलाई नै कमजोर बनाइरहेको छ।

यो ‘हाइप’ अब केवल भावनात्मक आवेग मात्र रहेन, यो एउटा व्यापार बनेको छ। क्यानको नेतृत्व, प्रायोजकहरू र मिडियाको एउटा वर्गले राष्ट्रिय टोलीको हरेक सानो सफलतालाई बजारमा बेच्न मिल्ने वस्तु बनाएका छन्।

एउटा जितपछि सिर्जना हुने अत्यधिक चर्चाले संरचनागत कमजोरी, आर्थिक अपारदर्शिता र व्यवस्थापकीय असफलताजस्ता गम्भीर मुद्दाहरूलाई सजिलै छोपिदिन्छ।

नेपाल प्रिमियर लिग जस्ता प्रतियोगिताको घोषणा भव्य हुन्छ, तर त्यसको सञ्चालन र आर्थिक पाटो सधैँ रहस्यको गर्भमा रहन्छ। यो ‘हाइप’ले एउटा यस्तो पर्दाको काम गर्छ, जसको पछाडि अनियमितता र अपारदर्शिताको खेल सुरक्षित रूपमा चलिरहन्छ।

नेपाली क्रिकेटको सबैभन्दा ठूलो रोग क्यानभित्रको राजनीतिक खिचातानी हो। ‘हाइप’ यही राजनीतिको सबैभन्दा ठूलो इन्धन हो। क्यानभित्रका विभिन्न गुटहरू राष्ट्रिय टोलीको सफलतालाई आफ्नो व्यक्तिगत वा गुटगत उपलब्धिको रूपमा प्रस्तुत गर्न दौडिन्छन्।

एउटा जित राष्ट्रिय गौरवभन्दा बढी आन्तरिक शक्ति सङ्घर्षको हतियार बन्छ। यसले गर्दा दीर्घकालीन र एकीकृत योजना बनाउनु असम्भव हुन्छ, किनकि सबैको ध्यान तत्कालको जस लिने र अर्को गुटलाई कमजोर पार्ने खेलमा केन्द्रित हुन्छ।

‘ओभर हाइप’को सबैभन्दा डरलाग्दो पक्ष भनेको यसले सिर्जना गर्ने ‘आत्मसन्तुष्टिको भ्रम’ हो।

जब सबैतिर चर्चा र वाहवाही हुन्छ, तब नेतृत्वलाई लाग्छ कि सबै ठीकठाक चलिरहेको छ र कुनै पनि आधारभूत सुधारको आवश्यकता छैन। यही आत्मसन्तुष्टि, आन्तरिक राजनीतिक खिचातानी र अपारदर्शी व्यवस्थापनको विषाक्त मिश्रणले नेपाली क्रिकेटलाई पुनः पुरानै अन्धकार युगमा धकेल्ने जोखिम बढाएको छ।

नेपाल क्रिकेटले आईसीसीको निलम्बनको जुन पीडादायी अध्याय भोगेको थियो, यो ‘हाइप’को महामारीले हामीलाई त्यही बाटोमा फर्काउने खतरा छ। यो केवल प्रगति रोकिनु मात्र होइन, यो त प्राप्त उपलब्धि समेत गुमाएर पतनतर्फको यात्रा हो।

अब चाहिएको सुधार होइन, भ्रमविरुद्धको विद्रोह हो
२०२५ बाट फर्केर हेर्दा नेपाली क्रिकेटसँग दुईवटा मात्र बाटाहरू छन्: पहिलो, यही चर्चाको भ्रममा रमाउँदै, कहिलेकाहीँ आउने संयोगको सफलतामा खुसी हुँदै, अहिलेकै बाटो हिँडिरहने। दोस्रो, भ्रमको पर्दा च्यातेर, यथार्थको सामना गर्दै कठोर प्रणालीगत सुधारमा ध्यान दिने।

नेपाली क्रिकेटको सबैभन्दा ठूलो शक्ति र ठूलो कमजोरी भनेकै ‘चर्चा’ हो। यही चर्चाले खेलाडीलाई असम्भवलाई सम्भव बनाउने ऊर्जा दिन्छ, तर यही चर्चाले संस्थागत अकर्मण्यता र असफलतालाई ढाक्ने बाक्लो पर्दाको काम पनि गर्छ।

अब नेपाली समर्थकले यो चर्चालाई परिष्कृत र रूपान्तरण गर्न सिक्नुपर्छ। समर्थकको ताली र समर्थन अब शर्तविहीन हुनु हुँदैन। खेलाडीको हरेक चौका र छक्कामा रमाउँदै गर्दा, समर्थकको विवेकले क्रिकेट सङ्घको नेतृत्वलाई केही आधारभूत प्रश्नहरू सोध्नुपर्छ। समर्थकको समर्थन अब खेलाडीको जितमा मात्र होइन, प्रणालीको पारदर्शितामा पनि जोडिनुपर्छ।

अबको माग नेतृत्वको कार्यशैली, सोच र संस्कृतिमा आमूल परिवर्तनको हो। क्रिकेट सङ्घको नेतृत्वलाई जवाफदेहिताको कसीमा नराखी कुनै सार्थक सुधार सम्भव छैन।

‘घरेलु क्रिकेटको क्यालेन्डर खोइ?’, ‘पूर्वाधार विकासको ठोस योजना र समयतालिका खोइ?’, ‘महिला क्रिकेट र पुरुष क्रिकेटबीचको विभेद अन्त्य गर्ने रोडम्याप खोइ?’, ‘खेलाडीको आर्थिक सुरक्षा र भविष्यको ग्यारेन्टी खोइ?’

जब लाखौँ समर्थकको आवाज यी प्रश्नहरूमा केन्द्रित हुन्छ, तब कुनै पनि नेतृत्व सुधारको बाटोमा आउन बाध्य हुन्छ।

साँचो अर्थमा नेपाली क्रिकेटको सफलता त्यो दिन हुनेछ, जुन दिन राष्ट्रिय टोलीको जित वा हारले मात्र सम्पूर्ण कथा भन्ने छैन। सफलता त्यो दिन हुनेछ, जुन दिन दार्चुला वा ताप्लेजुङको एउटा युवा खेलाडीले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टोलीसम्म पुग्ने एउटा स्पष्ट र पारदर्शी बाटो देख्नेछ।

सफलता त्यो दिन हुनेछ, जुन दिन एउटा खेलाडीले आफ्नो खेल जीवनको अन्त्यपछि पनि क्रिकेट प्रणालीभित्रै सम्मानजनक भविष्य देख्नेछ। र, सफलता त्यो दिन हुनेछ, जुन दिन हामीलाई कुनै एउटा स्टार खेलाडीको चमत्कारमा होइन, हाम्रो बलियो र व्यावसायिक प्रणालीमाथि गर्व लाग्नेछ।

त्यो समयसम्म पुग्नका लागि, यो ‘हल्ला’ र ‘चर्चा’को भ्रमपूर्ण कुहिरोबाट बाहिर निस्कनै पर्छ। तीतो यथार्थलाई स्वीकार्ने साहस गर्नैपर्छ र त्यसलाई बदल्ने सामूहिक अठोट लिनैपर्छ। तब मात्र यो ‘हल्ला’ एउटा अर्थपूर्ण ‘आवाज’ बन्नेछ र नेपाली क्रिकेट साँच्चै बलियो हुनेछ।

कात्तिक २०, २०८२ बिहीबार १०:२०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।