न्युयोर्कमा ट्रम्पलाई ठूलो झट्का, वामपन्थी नेता ममदानीको ऐतिहासिक जित
न्युयोर्क : अमेरिकाको न्युयोर्क सहरमा सम्पन्न निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानी मेयर पदमा ऐतिहासिक जित हासिल गरेका छन्।
यो नतिजाले डेमोक्रेटिक पार्टीमा नयाँ उत्साह थपेको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ठूलो झड्का मानिएको छ।
बढ्दो जीवनयापन खर्च, सार्वजनिक यातायात र बाल हेरचाह जस्ता मुद्दामा केन्द्रित ममदानीले पूर्व गभर्नर एन्ड्यु कुओमोलाई पार्टीको मनोनयनमा र मुख्य चुनावमा रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवालाई पराजित गरेका हुन्।
ट्रम्प र व्यापारिक घरानाको तीव्र आलोचनाका बाबजुद उनको विजयले प्रगतिशील राजनीतिको उदयलाई सङ्केत गरेको छ।
विजयपछि समर्थकलाई सम्बोधन गर्दै उनले भने, ‘राजनीतिक अन्धकारको यस घडीमा न्युयोर्क उज्यालो बन्नेछ।’
यसैगरी, डेमोक्रेटहरूले भर्जिनिया र न्युजर्सीको गभर्नर चुनावमा पनि सफलता हात पारेका छन्, जसले देशको राजनीतिक माहौलमा परिवर्तन आएको विश्लेषण गरिएको छ। सदनका डेमोक्रेटिक नेता हकीम जेफ्रिजले यसलाई ‘चरमपन्थीमाथिको विजय’ भनेका छन्।
अर्कोतर्फ, ट्रम्पले भने आफ्नो नाम मतपत्रमा नभएकाले रिपब्लिकनले हारेको दाबी गरेका छन्।
राजनीतिक विश्लेषकहरूले ममदानीको यो जितले डेमोक्रेटिक पार्टीभित्र मध्यमार्गी र वामपन्थी धारबीचको बहसलाई थप तीव्र बनाउने बताएका छन्।
कात्तिक १९, २०८२ बुधबार १३:३७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।