पूर्वी प्रशान्तमा अमेरिकी सैन्य कारबाही : लागुऔषध तस्कर डुङ्गामा आक्रमण, दुई जनाको मृत्यु

पूर्वी प्रशान्तमा अमेरिकी सैन्य कारबाही : लागुऔषध तस्कर डुङ्गामा आक्रमण, दुई जनाको मृत्यु

एजेन्सी : पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा अमेरिकी सेनाले लागुऔषध तस्करीमा संलग्न भएको आशङ्कामा एक डुङ्गामाथि आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ।

अमेरिकी रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएको हो। कारबाहीमा कुनै पनि अमेरिकी सैनिकलाई क्षति नभएको पेन्टागनले पुष्टि गरेको छ।

रक्षा मन्त्रालयका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा यो कारबाही गरिएको हो। अमेरिकी सरकारले आतंकवादी सङ्गठनको सूचीमा राखेको एक समूहले उक्त डुङ्गा सञ्चालन गरिरहेको र त्यसमा लागुऔषध रहेको दाबी गरिएको छ।

यो घटना यस क्षेत्रमा अमेरिकी सेनाको बढ्दो सक्रियताको एक हिस्सा हो।

सेप्टेम्बर २ यता अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा १७ वटा डुङ्गामाथि कारबाही गर्दा ६६ जना मारिएको दाबी गरिएको छ। ट्रम्प प्रशासनले गत अगस्टदेखि क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको थियो।

यसैबीच, अमेरिकी सैन्य कारबाहीलाई लिएर ल्याटिन अमेरिकी देशहरूबाट आलोचना हुँदै आएको छ।

शुक्रबार मात्रै राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले भेनेजुएलाका सैन्य अखडामा आक्रमण गर्ने भन्ने सञ्चारमाध्यमका रिपोर्टहरूलाई खण्डन गरेका थिए। यद्यपि, उनले भेनेजुएलामाथि स्थल आक्रमण गर्ने वा नगर्ने विषयमा अझै निर्णय नभएको बताएको थियो।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले वासिङ्टनले आफ्नो सरकारलाई अपदस्थ गर्न र यस क्षेत्रमा सैन्य प्रभाव विस्तार गर्न खोजेको आरोप लगाउँदै आएका छन्।

गत महिना कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि समुद्रमा लागुऔषध संदिग्धहरूको हत्यामा अमेरिकी सरकार जिम्मेवार रहेको आरोप लगाएका थिए।

कात्तिक १९, २०८२ बुधबार १२:३१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।