आर्थिक अपराध नियन्त्रण गर्न आइक्यान र सीआईबीबीच सहकार्य, अनुसन्धानमा विशेषज्ञता आदानप्रदान हुने
काठमाडौं : नेपालमा बढ्दो संस्थागत आर्थिक अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बीच सहकार्य हुने भएको छ। यस सम्बन्धमा मंगलबार दुई निकायबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपत्रमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले हस्ताक्षर गर्नुभयो। दुवै संस्थाका उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले वित्तीय अपराध अनुसन्धानमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
यो समझदारीको मुख्य उद्देश्य संस्थागत वित्तीय ठगी र आर्थिक अपराधको अनुसन्धानलाई प्रभावकारी बनाउनु हो। अनुसन्धानका लागि आवश्यक ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने, नक्कली लेखापरीक्षकविरुद्ध संयुक्त कारबाही गर्ने, लेखापरीक्षणसँग सम्बन्धित विषयमा सूचना आदानप्रदान गर्ने र आर्थिक अपराधबारे जनचेतना फैलाउने उदेश्य रहेको छ।
समझदारीअनुसार, सीआईबीले गर्ने आर्थिक अपराधको अनुसन्धानमा आइक्यानले प्राविधिक तथा विशेषज्ञ सहयोग उपलब्ध गराउनेछ। साथै, आइक्यानले सञ्चालन गर्ने ‘फरेन्सिक अकाउन्टिङ एन्ड फ्रड डिटेक्सन’ तालिममा सीआईबीका कर्मचारीहरूलाई पनि सहभागी गराइनेछ, जसले उनीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्नेछ।
त्यस्तै, आइक्यानका सदस्य (लेखापरीक्षक) विरुद्ध उजुरी परेमा छानबिनमा दुई निकायले समन्वय गर्नेछन्। यदि विषय लेखापरीक्षणको व्यावसायिक आचरणसँग सम्बन्धित भए आइक्यानले हेर्नेछ भने आपराधिक प्रकृतिको देखिएमा थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिइनेछ।
यसका साथै, आइक्यानले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ बमोजिम गर्ने नियमन तथा अनुगमन कार्यमा सीआईबीले आवश्यक सहयोग गर्नेछ।
हस्ताक्षर कार्यक्रममा आइक्यानका अध्यक्ष सारु मगर र सीआईबी प्रमुख डा. केसीले पछिल्लो समय संस्थागत वित्तीय अपराध बढ्दै गएकोले यसको नियन्त्रणका लागि विशेषज्ञता र आपसी सहकार्य अपरिहार्य रहेको बताए।
यो समझदारीले गैरकानुनी लेखापरीक्षणजस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न, वित्तीय अपराधको अनुसन्धानलाई परिणाममुखी बनाउन र लेखा व्यवसायको मर्यादा कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास दुवै पक्षले लिएका छन्।
कात्तिक १९, २०८२ बुधबार १०:२०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।