विश्वकप लिग-२ : नेपाल र यूएई आज भिड्दै, नेपाल सुखद नतिजाको खोजीमा
काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले आफ्नो ९०औं खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ।
यो खेल दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समय अनुसार बिहान ११:१५ बजे शुरू हुनेछ।
दुवै टोली लिगको अंक तालिकामा कमजोर स्थितिमा रहेकाले आजको खेल निकै महत्वपूर्ण मानिएको छ। १९ खेल खेलेको नेपाल ५ जित र १२ हारसहित १२ अंक जोडेर सातौँ स्थानमा छ।
त्यस्तै, १९ खेल नै खेलेको यूएई ४ जित र १५ हार बेहोर्दै ८ अंकका साथ तालिकाको पुछारमा अर्थात् आठौँ स्थानमा रहेको छ।
पछिल्लो समय दुवै टोली खराब लयबाट गुज्रिरहेका छन्। पछिल्ला पाँच खेलमा नेपाल र यूएई दुवैले एक-एक खेलमा मात्र जित निकालेका छन्। त्यसैले आज दुवै टोली जित निकाल्दै आफ्नो लय फर्काउने दबाबमा हुनेछन्।
यद्यपि, पछिल्लो पाँच भेटको नतिजाले नेपाललाई बलियो देखाउँछ।
नेपालले यूएईविरुद्धका पछिल्ला पाँच खेलमध्ये चारमा जित हात पारेको छ भने यूएईले एक खेल मात्र जितेको छ। यो तथ्याङ्कले नेपाली टोलीलाई आजको खेलमा मनोवैज्ञानिक फाइदा पुग्ने देखिन्छ।
आजको खेलमा जित हासिल गर्दै नेपाल अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा हुनेछ।
कात्तिक १९, २०८२ बुधबार ०८:०३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।