पशुपति, अस्पताल र विमानस्थलसहित काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ

पशुपति, अस्पताल र विमानस्थलसहित काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ

काठमाडौं : काठमाडौं उपत्यकाका अस्पताल, विमानस्थल र पशुपतिनाथ मन्दिरजस्ता १९ महत्त्वपूर्ण सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा सुरु भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा सर्वसाधारणको बढी आवतजावत हुने स्थानहरूमा यो सेवा विस्तार गरिएको हो।

मन्त्रालयका अनुसार, यी १९ स्थानमध्ये आठ ठाउँमा नयाँ वाइफाइ जडान तथा क्षमता विस्तार गरिएको छ भने ११ स्थानमा पहिलेदेखि उपलब्ध सेवाको गुणस्तर र क्षमता वृद्धि गरिएको छ।

नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वाइफाइ जडान गरी सञ्चालनमा ल्याइएको छ।

त्यसैगरी, ठूलोभर्याङ र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा जडान र क्षमता अभिवृद्धिको काम भइरहेको छ भने भक्तपुरको राधेराधेस्थित यातायात कार्यालयमा नयाँ वाइफाइ जडान गर्ने प्रक्रिया सुरु भएको छ।

यसअघि सेवा सञ्चालनमा रहेका ११ अस्पताल र पशुपति क्षेत्रमा इन्टरनेटको गति र डाटा सीमा बढाइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, शहीद गङ्गालाल, सिभिल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, शहीद धर्मभक्त केन्द्र र पशुपति मन्दिर परिसरमा इन्टरनेट ब्यान्डविथ १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस पुर्याइएको छ।

साथै, हरेक प्रयोगकर्ताले प्रतिडिभाइस १०० एमबी डाटा चलाउन पाउने सीमालाई बढाएर ५०० एमबी बनाइएको छ।

सञ्चारमन्त्री खरेलको सक्रियतामा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँग समन्वय गरी यो सेवा विस्तार गरेको हो।

सेवाको दिगोपनाका लागि सम्बन्धित संस्था र सेवाप्रदायक कम्पनीहरू नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेटबीच सम्झौता भइसकेको छ।

गत असोज ६ गते मन्त्री नियुक्त भएलगत्तै खरेलले दुई महिनाभित्र उपत्यकाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ पुर्याउने पहिलो निर्णय गरेका थिए। मन्त्रालयले अब उपत्यकाबाहिरका १० प्रमुख शहरमा पनि यो सेवा विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ।

यसैबीच, नेपाल टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्ययोजना बनाएको छ।

सेवा सञ्चालनको अनुगमनका लागि सञ्चारमन्त्री खरेलसहितको टोलीले आज नयाँ बसपार्क, शिक्षण अस्पताल, पशुपति क्षेत्र र विमानस्थलको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

कात्तिक १९, २०८२ बुधबार ०७:३१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।