परान : दर्शकको मुटु हल्लाउने संवाद, अभिनयमा नीर शाहको पुनर्जन्म

परान : दर्शकको मुटु हल्लाउने संवाद, अभिनयमा नीर शाहको पुनर्जन्म

हास्य टेलिश्रृंखला ‘सक्किगोनी’टिमबाट फिल्म ‘लाज शरणम्’निर्माण हुँदा अन्तमा दीपक आचार्य फालिए। फिल्मको फस्टलाइनदेखि स्क्रिप्ट पुरा हुँदासम्म संलग्न रहेका उनी अन्तमा टिमै अटाएनन्। फिल्मको नाम घोषणामा कतै उनको नाम थिएन। अनि उनले फिल्म लाज शरणम् फ्लोरमा जाने दिन पारेर चलचित्र विकास बोर्डमा ‘परान’ नाम दर्ता गरे।

उनमा राम्रै इख पलाएको रहेछ भन्ने फिल्मले दर्शकबाट पाएको प्रतिक्रियासँगै फिल्मको गुणस्तरले समेत देखायो। उनले फिल्मको संवादमा निकै मेहनत गरेको देखिन्छ।

मुख्य स्लोगन नै ‘सासले होइन साथले चल्छ’ राखिएको फिल्म 'परान'ले परिवारभित्र पनि बा र छोराबीचको मौन माया, समझदारी र भावनाको गहिराइलाई पस्कने प्रयास गरेका छन्। छोराको चाहना थाहै नपाएझैँ गर्दै पुरा गर्दै जाने बाबुबारे ‘मनको कुरा बुझ्ने भएर त बा भनेका होलान्?’ भन्ने जस्ता बा र छोराहरूको मन चसक्क बनाउने संवादहरू निकै छन् फिल्ममा।

सन्तान र अभिभावकबीचको सम्बन्धमा बनेका फिल्मको चाङका बिचमा उनले त्यही कथालाई पस्कने प्रयास गरे। तर भिज्योल ग्रामरमा बस्न नसक्दा अधिकांश फिल्म मज्जाले चिप्लिएका छन्। तर 'परान'मा निर्देशक तथा कथाकार समेत रहेका दीपकले फिल्म निर्माणमा कम त्रुटि होस् भनेर राम्रै मिहिनेत गरेको देखियो।

अब लागौँ कथासार,

धनकुटाको एउटा गाउँमा धर्मनाथ आचार्य (नीर शाह)दुर्गादेवी (पूजा चन्द)का तीन छोरा छन्। गाउँकै मान्य धर्मनाथका तीन छोरामध्ये जेठो (सुब्रत आचार्य) अस्ट्रेलियामा परिवार सहित गए। माइलो लक्ष्मीनाथ (प्रवीण खतिवडा) श्रीमती सहित काठमाडौंमा बस्छन्। कान्छो छोरो गोपालनाथ(महेश त्रिपाठी) श्रीमती रुपा सहित गाउँमै बसेका छन्।

गोपालनाथले जेटिए पढे पनि गाउँमै कुखुरा पालेर बसेका छन्। उनको श्रीमती रुपा (अञ्जना बराइली)गाउँकै स्कुलमा पढाउँछिन्। जेठो र माइलो छोराको अभाव महसुस हुन्छ नै। तर कान्छो छोराको साथले धर्मनाथ खुसी छन्।

उनलाई सन्तान विदेश गएको मन पर्दैन। त्यसैले प्राय गाउँमा आफ्नो सन्तानलाई विदेश पठाउनु हुन्न भनी रहन्छन् गाउँमा। सोही गाउँका गाउँ बुढा (मदनकृष्ण श्रेठ)ले छोरा पनि विदेश गएका छन्। तर परिबन्दले धर्मनाथको कान्छो छोरा पनि उनको साथमा बस्न सक्दैनन्। उनी श्रीमतीसहित अमेरिका पुग्छन्।

कान्छो छोरा र बुहारी अमेरिका गएपछि उनी माइलोलाई घर फर्काउन काठमाडौँ आउँछन्। माइलो सन्तान गाउँ फर्कन तयार हुन्छन् या हुन्नन्? फिल्मको मुख्य सार यही हो।

सबल पक्ष

दीपक आचार्यले फिल्मका लागि जुन कथा चुनेका छन् यो नौलो हैन। शहर होस् या गाउँका अभिभावक अहिले सन्तानको साथहीन हुँदै गएका छन्। विदेशमा रहेका सन्तान कुर्न समयमा अन्तिम संस्कार समेत हुन नसकेका कयौँ घटना छन्। उमेर ढल्कँदै जाँदा सन्तान नजिकै होस् भन्ने अभिभावकले चाहे पनि कहिले रहरमा त कहिले परिबन्दमा सन्तानको साथ पाउन नसकेका यस्तै अभिभावकहरूको कथा नै हो 'परान' पनि।

तर फिल्मको स्क्रिनप्ले र संवादमा गरेको मिहिनेतले दर्शकले पुरानै कथा हेरेको अनुभव हुन्न। उनले सामान्य कथालाई बढो चलाखीका साथ प्रस्तुत गरेका छन्। प्राय नेपाली फिल्मको स्क्रिनप्ले हाफ अगाडि र पछाडिको एकै गति हुन्न। यो फिल्मको गति दुवै भागमा एकै छ।

फिल्ममा प्रयोग गरिएको तुलसीको मठ होस् या माहुरीको घारको बिम्ब होस् ती सबै अर्थपूर्ण रूपमा प्रयोग भएको छ। कान्छा छोराबुहारी विदेश जाँदा अटोको पछाडि ‘पीडा दिलमा, मान्छे चिलमा’ लेखिएको देखाएका छन्। त्यही शब्दले नै पात्रको मनोभाव दर्शकलाई मजाले बुझाएको छ। फिल्मका अन्य संवादहरू पनि निकै चोटिला छन्।

फिल्ममा नीर शाह र पूजा चन्दको अभिनयले दर्शकलाई भावुक बनाउँछ। अझ नीर शाहले निकै जीवन्त अभिनय गरेका छन्। यो फिल्मको मुख्य नायक नै नीर शाह हुन्। अभिनयका दृष्टिले उनको पुनर्जन्म भन्दा फरक पर्दैन। उनका कान्छा छोराको चरित्रमा रहेका महेश त्रिपाठी र कान्छी बुहारी अञ्जना बराइलीको अभिनय पनि बलियो छ। जेठो छोरा सुब्रत,माइलो छोरा प्रवीण खतिवडा र बुहारी केकी अधिकारीको अभिनय पात्र अनुसार ठिकठाकै छ।

फिल्मको बिजिएम कथा अनुसार झर्को लाग्दो छैन। गीतसङ्गीत पनि ठिकै छ। फिल्मको छायाङ्कन सामान्य देखिन्छ। फिल्मको सुरुवातमा नै प्रमोसनल गीत ‘ओए भन्दा पनि मानेन’राखिएको छ। जुन गीत दर्शकले हलबाट बाहिरिँदा पनि सम्झन्छन्। अर्को गीत ‘एक मुठी परान’ पनि मिठो छ।

कमजोरी

फिल्मको लम्बाइ २ घण्टा २६ मिनेट छ। स्क्रिनप्लेको शैली सुस्त नै छानेका छन् निर्देशकले। बिझाउने दृश्य त छैनन् तर सम्पादन गरेर छोट्टाउन सकिने ठाउँहरू भने देखिन्छन्। फिल्मको कथा अनि पटकथा संवाद जत्तिको सशक्त बन्न सकेको छैन।

फिल्मका पात्रहरूको चरित्र चित्रण र उनीहरूलाई दिएको स्क्रिन टाइममा पनि केही चुकेका छन् निर्देशक। मुख्यगरि पूजा चन्दको क्यारेक्टरमा समस्या देखिन्छ। बा र सन्तानको सम्बन्ध देखाउँदा फिल्ममा आमाको पात्र ओझेलमा परेको छ। अभिनयको सवालमा पनि चन्दका भावुक दृश्यहरू त्यति जमेका छैनन्।

फिल्ममा तीन सन्तान छन्। त्यसमध्ये दुई सन्तानसँगको अभिभावकको सम्बन्धमा निर्देशकले जति मिहिनेत गरेका छन् अष्ट्रेलियामा रहेका जेठो छोराको पाटोमा भने त्यति ध्यान दिन सकेको देखिँदैन। फिल्मको छायाङ्कनमा समेत समस्या देखिन्छ। निर्माताले छायाङ्कनमा कम्प्रमाइज गरेको झैँ देखिन्छ।

अन्त्यमा, टेलिसिरियलमा अभिनय र अनि निर्देशनको अनुभव भएका आचार्यले 'परान'मा जुन तहको संवादले 'परान' भरेका छन् यो उनको सबैभन्दा शक्तिशाली उपस्थिति हो। संवादले दर्शकको मुटु हल्लिन्छ। सामान्य कथालाई बुन्दै उनले जुन तहको शैली प्रयोग गरेर प्रस्तुत गरेका छन् त्यो तारिफयोग्य छ। उनी समावेश हुने प्रयास गरेको 'लाज शरणम्'सँग दाँज्ने हो भने उनले बाजी मारेका छन्।

कात्तिक १८, २०८२ मंगलबार २०:२३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।