बहुविवाह मुद्दामा एक वर्ष अघि नै दोषी ठहर भएका थिए एमाले नेता शेर्पा, आज पक्राउ परे

बहुविवाह मुद्दामा एक वर्ष अघि नै दोषी ठहर भएका थिए एमाले नेता शेर्पा, आज पक्राउ परे

काठमाडौं : एमाले नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा एक वर्ष अघि नै दोषी ठहर भएका थिए। तर सत्ता दाहिने हुँदा उनी पक्राउ परेनन्। उनै शेर्पा आज धुम्बाराहीबाट पक्राउ परेका छन्। 

अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। 

अदालतले शेर्पालाई बहुविवाहसम्बन्धी मुद्दामा एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो। जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले पनि २०८१ असोज ६ गते सदर गरेको थियो।

शेर्पाको बहुविवाह प्रकरण यसअघि एमाले सचिवालय बैठकमा पनि उठेको थियो। बैठकमा उनलाई निलम्बन गर्नुपर्ने आवाज उठेपनि अध्यक्ष केपी शर्मा ओली उनलाई तत्काल कारबाही गर्नुपर्ने मुडमा नदेखिएपछि उनी बच्दै आएका थिए।

शेर्पा एमालेको केन्द्रीय सदस्य हुन्। पहिलो संविधानसभामा उनी एमालेका तर्फबाट सांसद समेत भए। 

पहिचानवादी हुँदै बाबुराम भट्टराईको नयाँ शक्तिमा समेत पुगेका शेर्पा फेरि फर्केर एमालेमा आएका हुन्। एमालेको १०औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य चयन भएका थिए।

कात्तिक १८, २०८२ मंगलबार २०:१३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।