मलेसियाले ल्याएको वैदेशिक रोजगारसम्बन्धी नयाँ मापदण्ड स्वीकार गर्न सकिँदैन : श्रम मन्त्रालय
काठमाडौं : नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारले ल्याएको वैदेशिक रोजगारसम्बन्धी नयाँ मापदण्ड स्वीकार गर्न नसकिने बताएको छ।
मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार मलेसियाले नेपाललगायत पाँच देशका म्यानपावर कम्पनीका लागि निर्धारण गरेको १० बुँदे मापदण्डबारे असहमति जनाउँदै नेपालले कूटनीतिक पत्राचारमार्फत आफ्नो धारणा स्पष्ट गरेको हो।
‘मलेसिया सरकारले ल्याएको मापदण्डमा व्यवसायीहरूले नै गम्भीर आपत्ति जनाएका छन्,’ प्रवक्ता घिमिरेले भने, ‘त्यसैले हालको अवस्थामा ती मापदण्डहरू स्वीकार गर्न नसकिने जानकारी परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई पठाइएको छ।’
मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई सो मापदण्डबारे पत्राचार गर्दै आगामी नोभेम्बर १५, २०२५ भित्र म्यानपावर कम्पनीहरूको विवरण पठाउन अनुरोध गरेको थियो। उक्त मापदण्ड नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र म्यानमारका कम्पनीहरूलाई लक्षित गरिएको छ।
मलेसियाले तय गरेका मापदण्डअनुसार म्यानपावर कम्पनीले कम्तीमा पाँच वर्षको इजाजतपत्र पाएको, पछिल्ला तीन वर्षमा कम्तीमा तीन हजार श्रमिक पठाएको र कम्तीमा तीन देशमा श्रमिक पठाएको अनुभव हुनुपर्ने भनिएको छ। साथै, कम्पनीले सम्बन्धित निकायबाट सबै वैध अनुमति, सदाचार प्रमाणपत्र र अन्तर्राष्ट्रिय रोजगारदाताबाट सिफारिस पत्र पेस गर्नुपर्ने उल्लेख छ।
त्यस्तै, कम्पनीले कुनै जबर्जस्ती श्रम, मानव बेचबिखन, ठगी वा आर्थिक अपराधमा संलग्न नरहेको, कम्तीमा १० हजार वर्गफिट क्षेत्रफलमा स्थायी रूपमा सञ्चालनमा रहेको र पर्याप्त पूर्वाधार भएको हुनुपर्ने पनि मापदण्डमा समावेश छ।
तर, नेपाली वैदेशिक रोजगार व्यवसायीहरूले यी मापदण्डहरूलाई अत्यधिक कठोर र व्यावहारिक रूपमा कार्यान्वयन असम्भव भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। मन्त्रालयले सोही कारण मलेसिया सरकारलाई नयाँ मापदण्ड पुनर्विचार गर्न औपचारिक अनुरोध गरेको जनाएको छ।
कात्तिक १८, २०८२ मंगलबार १८:५८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।