८ दलले तारा चुनाव चिह्न राख्दा जसपालाई आपत्ति, निर्वाचन आयोगलाई गरायो ध्यानाकर्षण
काठमाडौं : नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहितका दलको एकतापछि पार्टीको चुनाव चिह्न तारा राख्ने भएकोमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) आपत्ति जनाएको छ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आफ्नो झण्डामा रहेको पाँच कुने तारा चिन्हलाई अन्य दलले चुनाव चिन्हका रूपमा दावी गर्न खोजेको भन्दै आपत्ति जनाएको हो।
पार्टीका प्रवक्ता मनिष कुमार सुमनले आज एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ का दफा ६ (१)(ङ), दफा ९ र दफा ५४ (७)(क) विपरीत यस्तो कार्य गर्न नहुने भन्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारा अन्य कुनै दलले आफ्नो चिन्हका रूपमा प्रयोग गर्न खोजिएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
पार्टीले सो चिन्हलाई कुनै पनि दलले चुनाव चिन्ह वा अन्य प्रतीकका रूपमा प्रयोग नगर्न आग्रह गर्दै यस विषयमा निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएको हो।
पार्टीका प्रवक्ता मनिष कुमार सुमनले विज्ञप्तिमार्फत भनेका छन्, ‘जसपाको झण्डा र त्यसमा प्रयोग भएको पाँच कुने तारा हाम्रो पहिचानको प्रतीक हो, यसलाई हेरफेर गर्न खोज्ने कुनै पनि प्रयास गैरकानुनी र अस्वीकार्य हुनेछ।’
कात्तिक १८, २०८२ मंगलबार १८:३६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।