रुपन्देहीको फ्रेन्च फ्राइ अमेरिका निर्यात
बुटवल : रुपन्देहीको शुद्धोधनमा रहेको फस्ट च्वाईस फुड्सले उत्पादन गरेको फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरू भएको छ। हिमालयन क्रिस्प र हाम्रो फ्राइज ब्रान्डका फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरु भएको हो।
उद्योगका सञ्चालक कृष्ण पौडेलले ४२ मेट्रक टन फ्रेन्च फ्राइज अमेरिका निर्यात भएको हो। मंगलबार मात्र ४२ मेट्रक टन फ्रेन्च फ्राइज बोकेका कन्टेनर भैरहवा भन्सार कार्यालयबाट कोलकाता बन्दगाहका लागि हिडेका छन्।
कोलकाताबाट कन्टेनरमा ५० दिनमा फ्रेन्च फ्राइज अमेरिका पुग्ने सञ्चालक पौडेलले बताए। उनले अमेरिका सँग बेलायतमा पनि छिट्टै फ्रेन्च फ्राइज निर्यात गरिने बताए।
‘अहिले हरेक हप्ता अमेरिका निर्यात हुन्छ। त्यस सँगै बेलायतमा पनि छिट्टै निर्यात हुन्छ। कुरा भइरहेको छ’ उनले भने।
दुबई, मलेसिया, साउदी अरेबियाजस्ता तेस्रो मुलुकहरूमा पनि निर्यात गर्ने तयारी गरेको उनले बताए। अमेरिकामा निर्यात सुरु हुनु अघि उद्योगबाट उत्पादित फ्रेन्च फ्राइजको गुणस्तर चेकजाँच भएको थियो।
गुणस्तरका सबै सूचकहरु उत्कृष्ट भएपछि अमेरिकामा फ्रेन्ज फ्राइज निर्यात गरिएको सञ्चालक पौडेलले बताए।
भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले फ्रेन्च फ्राइज विदेशमा निर्यात हुनु सुखद भएको भन्दै यसबाट ४० हजार अमेरिकी डलर नेपाललाई प्राप्त हुने बताए।
साथै उनले फ्रेन्च फ्राइजको निर्यातले थोरै भएपनि व्यापार घाटा कम गराउन योगदान पुर्याउने बताए। रुपन्देहीको शुद्धाधेनमा पाँच वर्ष अघि बाट स्थापना भई उत्पादन सुरु गरिरहेको उद्योगले गत असार ५ गते फस्ट च्वाईस फुडको उत्पादन सार्वजनिक गरेको थियो।
नेपालमा खपत हुने फ्रेन्च फ्राइज विदेशबाट आयात हुने गरेको र उक्त आयातलाई विस्थापित गर्ने उद्देश्य सहित सञ्चालनमा आएको उद्योगले छोटो समयमै ७५ प्रतिशत नेपाली बजारमा आफ्नो उत्पादन पुराइसकेको छ।
दुई अर्बको लागतमा सञ्चालनमा रहेको उद्योगले एक घण्टामा दुई टन फ्रेन्च फ्राइ उत्पादन गर्न सक्ने युरोपियन प्रविधि युक्त संयन्त्र जडान गरेको छ।
उद्योगले वार्षिक २ हजार टन आलु उत्पादन गर्ने गरी ३५ हजार किसानलाई उद्योगसँग जोडेको छ। उद्योगले कैलाली, नवलपुर, सिन्धुली, काभ्रेपलाञ्चोक लगायत २६ जिल्लाका किसानहरूबाट आलु खरिद गरिरहेको छ। उत्पादन भएको आलु उद्योगले किसानको खेतबाटै खरिद गर्दै आएको छ। गत बर्ष मात्र उद्योगले २ हजार मेट्रिक टनभन्दा बढी आलु किसानबाट खरिद गरेको थियो।
काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ, नेपालगन्ज जस्ता मुख्य सहरहरूमा ५ वटा वितरक, १२ चेन रेस्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेस्टुरेन्ट, १७१ मोडर्न मार्टमार्फत उपभोक्ता माझ आफ्नो उत्पादन पुर्याइएको उनले बताए। कम्पनीले फ्रेन्च फ्राईसँगै, क्रिनिकल कट, स्माइलस, हास ब्राउन, स्मोकी बाइटस, आलु टिक्का, भेज स्टिक, पोटेटो वेजेस, भेज बर्गर प्याटी लगायतका उत्पादन गर्दै आएको छ।
कात्तिक १८, २०८२ मंगलबार १८:०२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।