एकतामा हिँडेको माओवादी विभाजित, जनार्दन र राम कार्कीले घोषणा गरे अलग अभियान

एकतामा हिँडेको माओवादी विभाजित, जनार्दन र राम कार्कीले घोषणा गरे अलग अभियान

काठमाडौं : जेन-जी आन्दोलनको दबाबपछि विभिन्न पार्टीसँग एकता गरेर बलियो पार्टी बनाउन हिँडेका पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका नेताहरूलाई एकीकृत गर्न सकेनन्। उनले एकीकृत समाजवादीसहित साना कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गराइसके।

तर पार्टीभित्र फरक मत राख्दै आएका पूर्वउपमहासचिव जनार्दन शर्मा लगायतका नेताहरू एकता प्रक्रियामा उनीसँग सहभागी भएनन्। शर्मासहितका तीन माओवादी नेताले अन्ततः माओवादी केन्द्र त्यागेर प्रगतिशील अभियान, नेपाल नामको नयाँ अभियानको घोषणा गरे।

शर्माले पार्टी रूपान्तरणको बहस चलाउँदा पार्टी अध्यक्ष प्रचण्ड बाट पार्टी नै छाड्न दबाब खेप्दै आएका थिए। अन्तमा उनले एकताको माहौलकाबीच अन्य दुई नेतासहित माओवादीबाट अलग भएको घोषणा गरे मंगलबार।

शर्माको पार्टी परित्यागको निर्णयसँगै माओवादी केन्द्रभित्रको गहिरो वैचारिक विभाजन खुलेर सतहमा आएको छ। शर्मासँगै राम कार्की र अञ्जना विशुंखेले पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र त्यागेको घोषणा गरे।

उता प्रचण्ड भने अझै शर्मालाई पुनः पार्टीमा फर्काउने प्रयासमा छन्। उनले बंगलबार सार्वजनिक रूपमा शर्मालाई पार्टीमा फर्कन आग्रह गरे। मंगलबार बसेको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले शर्मालाई भने “अझै पनि तपाईँ विचार गर्नुस्, तपाईँ फर्कनुस्। अझै अगाडि जानुपर्छ।”

नेता अग्निप्रसाद सापकोटा “देशभक्तहरू एकताबद्ध भएर अघि बढ्न प्रचण्डले अपिल गरेको बताए। उनले नेतृत्वको नयाँ टिम निर्माण गर्ने कुरा बताएको दाबी समेत गरे।

 “अब देश समाजवादी क्रान्तितिर अग्रसर भएको छ। राष्ट्रिय मुक्ति आन्दोलनका लागि शक्तिशाली आधार तयार भएको छ। जेन–जी आन्दोलनले त्यसको एउटा झल्को देखाएको छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने।

कात्तिक १८, २०८२ मंगलबार १७:२२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।