प्रधानमन्त्रीको निवासमा मिसाइल हान्छु भनेर भागेका निकोलस गोरखाको आश्रममा समातिए

प्रधानमन्त्रीको निवासमा मिसाइल हान्छु भनेर भागेका निकोलस गोरखाको आश्रममा समातिए

काठमाडौं : बालुवाटारमा मिसाइल हान्ने चेतावनीदिँदै पत्रकार सम्मेलन गरेर फरार भएका डा. निकोलस भुसाल गोरखाको आश्रममा लुकिरहेको अवस्थामा फेला परेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर फरार भएका उनलाई प्रहरीले गोरखाको गोरखा नगरपालिका–८ सरस्वती आश्रमको ‘सन्त निवास हल’ मा फेला परेको हो।

उनले फरार रहेकै बेलामा फेसबुक लाइभ गर्दै काठमाडौंमै रहेको दाबी गरेका थिए। तर प्रहरीले उनको लाइभमा देखिएको स्थानको आधारमा गोरखामा रहेको निष्कर्ष निकाल्दै खोजी गर्दा मंगलबार गोरखाको आश्रममा भेटिएका हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले प्राविधिक अनुसन्धानबाट उनी लुकेर बसेको स्थान खुलेपछि जिल्ला प्रहरी कार्यालय गोरखाको टोली परिचालित भएका थिए। प्रहरी पुग्दा उनी आश्रममा सुतिरहेको अवस्थामा फेला परेका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध अराजक अभिव्यक्ति दिएका उनले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौंका मेयर बालेन शाहविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

गत शनिवार उनले पत्रकार सम्मेलन गरेर माइतीघरमा भेला भएर ओली र लेखकको घर घेर्न आव्हान गरेका थिए। उनले बालुवाटारमा हान्न मिसाइल तयार रहेको हाँस्यापद दाबी समेत गरेका थिए।

जेन-जी आन्दोलनपछि मन्त्री बन्ने प्रयासमा रहेका उनले यस अगाडि पनि पत्रकार सम्मेलन र सामाजिक सञ्जालमार्फत आपत्तिजनक र अराजक अभिव्यक्ति दिँदै आएका छन्। यस अगाडि उनी माइतीघरमा पक्राउ पर्दा स्वास्थ्य परीक्षण भएको थियो। परीक्षणमा उनले गाँजा खाएको पुष्टि भएको थियो। उनी रवि लामिछाने पोखराको प्रहरी हिरासतमा रहेको तस्बिर सार्वजनिक गर्दा पक्राउ परेका थिए।

कात्तिक १८, २०८२ मंगलबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।