बारम्बार हुने आन्दोलनले बाल मष्तिस्कमा कसरी असर पार्छ?
                    
                    
                    
                    त्यो दिउँसो मेरो सात वर्षको भतिज चुपचाप घर फर्कियो। उसले स्कुलको झोला सोफामा रिस र आवेगसँगै पसार्यो र लामो सास फेर्दै भन्यो, ‘काका, के भइरहेको छ?’
उसको प्रश्नले मलाई बेचैन बनायो। त्यो दिन अर्थात भदौ २३ गतेको ‘जेन-जी’को आन्दोलनका कारण उसको विद्यालय १२:३० बजे नै बन्द भएको रहेछ। कर्फ्यु लागिसकेकाले म पनि अफिसबाट छिट्टै फर्किएको थिएँ।
हामी दुवै टेलिभिजनमा आन्दोलनको भीड हेरिरहेका थियौँ। युवाहरू भ्रष्टाचारविरुद्ध, निष्पक्ष अवसर र सुधारका माग गर्दै सडकमा उत्रिएका थिए। त्यही बेला उसले फेरि सोध्यो- शान्त तर चस्स पार्ने प्रश्न, ‘काका, तपाईँ विदेश कहिले जानुहुन्छ?’
म केही क्षण मौन रहेँ। बेलुका खेल्दै गर्दा मैले सोधेँ, ‘तिमीले यस्तो किन सोधेको?’
उसले बालसुलभ उत्तर दियो, ‘स्कुल बसका चालक र सहचालकले पनि भनिरहेका थिए। उनीहरूले भिसा लगाइसकेछन्, अब छिट्टै विदेश जाने रे। तर आन्दोलनले ढिलो होला भन्दै थिए।’
त्यो बाल उत्तरले मलाई गहिरो सत्य सम्झायो- हाम्रा बालबालिकाले कति चाँडै वरपरको बेचैनी, अनिश्चितता, अशान्ति र ‘भागेर बाँच्ने’ संस्कृतिलाई आत्मसात् गर्न थालिसकेका छन्।
नेपालमा आन्दोलन नयाँ कुरा होइन, यो त हाम्रो जीवनको नियमित भागजस्तै बनिसकेको छ। शिक्षकहरूको पटक-पटक हुने आन्दोलन यसैको एक उदाहरण हो।
शिक्षकहरूका मागहरूमा राहत, करार र अस्थायी शिक्षकलाई स्थायी नियुक्ति, आन्तरिक प्रतिस्पर्धाको व्यवस्था, शिक्षक सेवा आयोगको सुदृढीकरण, तलब-भत्ता र सुविधा वृद्धि, स्थानान्तरण, मूल्याङ्कन र पदोन्नतिमा पारदर्शिता, समावेशी र गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा अनावश्यक सरकारी हस्तक्षेप हटाउने जस्ता विषयहरू समावेश छन्।
ती मागहरू न्यायोचित होलान्, तर पटक-पटक हुने यी आन्दोलनको सबैभन्दा ठुलो मूल्य उनीहरूले होइन, निर्दोष बालबालिकाले तिर्नुपरेको छ। हरेक पटक विद्यालय बन्द हुँदा हजारौँ विद्यार्थीले केवल पढाइ मात्र होइन, आफ्नो दिनचर्या, स्थिरता र भावनात्मक सुरक्षाको अनुभूति पनि गुमाउँछन्।
बाल विकासको सुरुवाती चरणमा रहेका बालबालिकाका लागि विद्यालय केवल पढ्ने ठाउँ होइन। यो उनीहरूको सुरक्षित संसार हो- खेल्ने, सिक्ने र भरोसा गर्न सक्ने ठाउँ। जब यो सुरक्षित ठाउँ पटक-पटक असुरक्षित हुन्छ, त्यसको असर गहिरो हुन्छ।
बालबालिकामा छटपटी बढ्न सक्छ, उनीहरू डराउने वा आक्रोशित हुन सक्छन्। कामकाजी आमा-बुबा र हेरचाहकर्ताका लागि पनि विद्यालय बन्द हुनु अतिरिक्त तनावको विषय हो। अचानक सन्तानको हेरचाह र काम दुवैमा सन्तुलन मिलाउन गाह्रो पर्छ। दैनिक ज्यालादारीमा गुजारा गर्ने परिवारका लागि त विद्यालय बन्द हुनु आय गुम्नु र झन् बढी निराशा बढ्नु हो।
मानसिकताको परिवर्तन
म आफैँ पनि कलेजमा आंशिक रूपमा अध्यापन गर्छु। मैले देखेको छु कि यो अस्थिर वातावरणले युवाको सोचाइलाई कसरी प्रभावित पारेको छ। एक पटक मैले ३२ जना जनस्वास्थ्य स्नातक तहका विद्यार्थीहरूलाई सोधेँ। तीमध्ये जम्मा दुई जनाले मात्र नेपालमै काम गर्ने इच्छा देखाए।
बाँकी सबैले आईएल्टस वा टोफेलको तयारी गरिरहेका थिए, विदेश जाने योजनामा। यो आकाङ्क्षा महत्त्वाकाङ्क्षाबाट मात्र होइन, निराशाबाट जन्मिएको हो। जब आन्दोलन सामान्य बन्छ र समाधानको साटो अवरोधलाई नै ‘सङ्घर्ष’ ठानिन्छ, तब साना बालबालिकाले पनि बुझ्न थाल्छन्- ‘उत्तम जीवन नेपालमा होइन, विदेशमा छ।’
यो मानसिकता अब घर-घरमा, विद्यालयको मैदानमा र सामाजिक सञ्जालमा फैलिइसकेको छ। फलस्वरूप, समस्या केवल आर्थिक मात्र रहँदैन; यो गहिरो मनोवैज्ञानिक सङ्कटमा रूपान्तरण हुँदै छ। जब कुनै देशका युवाहरूले आफ्नै प्रणालीप्रति विश्वास गुमाउँछन्, तब त्यस देशले आफ्नो सामाजिक र नैतिक आधार गुमाउन थाल्छ।
विश्व स्वास्थ्य सङ्गठनअनुसार विश्वभर करिब ८ प्रतिशत बालबालिकाले कुनै न कुनै मानसिक विकार भोगिरहेका छन्, तर धेरैले उपचार पाउँदैनन्। नेपालमा मानसिक स्वास्थ्य अझै पनि लाज वा ‘वर्जित विषय’ मानिने भएकाले यो प्रतिशत अझ बढी हुन सक्छ।
विद्यालय पटक-पटक बन्द हुँदा बालबालिकामा चिन्ता, उदासी र व्यवहारिक अस्थिरता बढ्दै गएको छ। विद्यालय पुनः खुलेपछि पनि धेरैलाई पुनः अनुकूलन गर्न गाह्रो हुन्छ। कोही अत्यधिक अस्थिर वा आक्रामक बन्छन्।
यो भावनात्मक अस्थिरता किशोरावस्थासम्म रहिरहन्छ, जसले उनीहरूको पढाइ, सम्बन्ध र समग्र जीवनमा असर पार्छ। तर दुःखको कुरा, नेपालमा शिक्षाबारे छलफल हुँदा मानसिक स्वास्थ्य अझै पनि प्राथमिक विषय बनेको छैन। हामी अङ्क, पूर्वाधार र पाठ्यक्रमबारे त बहस गर्छौँ, तर नीतिगत असफलताले बालमनमा पार्ने मानसिक र भावनात्मक मूल्यबारे भने हामी सायदै सोच्छौँ।
अगाडिको बाटो
शिक्षा र मानसिक सन्तुलन कुनै सौदाबाजी गर्ने विषय होइनन्। यी हरेक बालबालिकाको मौलिक अधिकार हुन्। शिक्षकका माग सुन्ने र समाधान गर्ने जिम्मेवारी राज्यको हो। त्यसको मूल्य बालबालिकाले तिर्नु न्यायोचित छैन। सरकार, शिक्षक सङ्गठन र शिक्षा निकायले संवाद, मध्यस्थता र निष्पक्ष सहमतिको बाटो अपनाउनै पर्छ, अवरोधको होइन।
साथै, प्रारम्भिक बाल विकासमा लगानी गर्नु देशको सबैभन्दा बुद्धिमानी निर्णय हो। अध्ययनहरूले देखाएका छन्- उच्च गुणस्तरीय प्रारम्भिक शिक्षामा खर्च गरिएको हरेक १ डलरले भविष्यमा ४ देखि ९ डलरसम्मको प्रतिफल दिन्छ, जुन स्वास्थ्य, सिकाइ र उत्पादकत्वमा देखिन्छ।
यसलाई ‘सहायता’ होइन, राष्ट्र निर्माणको आधारका रूपमा लिनुपर्छ। विद्यालयहरूमा परामर्श सेवा, शिक्षक तालिम र सचेतना कार्यक्रममार्फत मानसिक स्वास्थ्यलाई शिक्षाको हिस्सा बनाउन जरुरी छ। करुणामय शिक्षा प्रणाली भनेको केवल ‘क’ र ‘ख’ सिकाउने होइन; धैर्य, आत्मबल र भावनात्मक बुद्धिमत्ता पनि सिकाउने हो।
अन्तिममा त्यो साँझ, जब मेरो भतिजोले फेरि सोध्यो, ‘भोलि विद्यालय खुल्छ काका?’ म मन्द मुस्कुराएँ र भनेँ, ‘खुल्छ।’ तर मनभित्र म आफैँ निश्चित थिइनँ।
त्यो क्षणमा मैले महसुस गरेँ- नेपालको शिक्षा सङ्कटको सबैभन्दा ठूलो पीडा केवल पढाइ गुमाउनु होइन, बाल्यकालको मौन क्षय हो। हाम्रा बालबालिकाहरू अझ राम्रो वातावरणका लागि योग्य छन्, जहाँ सिकाइ निरन्तर होस्, शिक्षक सम्मानित होऊन्, र बालमनहरू अनिश्चितताले होइन, आशाले भरिएका होऊन्।
(लेखक पाण्डे रिच नेटवर्क- मुभिङ माइन्ड्स एलाइन्सका फेलो र नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता हुन्।)
कात्तिक १८, २०८२ मंगलबार १४:११:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।