१६ वर्षीया नाबालिगलाई ४५ दिन बन्धक बनाएर बलात्कार, युवकविरुद्ध मुद्दा दर्ता
                    
                    
                    
                    काठमाडौं : प्रेम सम्बन्धको बहानामा एक नाबालिगलाई ४५ दिनसम्म बन्धक बनाएर पटक-पटक बलात्कार गरेको आरोपमा एक युवकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं महानगरपालिका-१७, ढल्कुका २४ वर्षीय विकास तामाङ (बिक्की) विरुद्ध जबरजस्ती करणीको कसुरमा १० देखि १२ वर्षसम्म कैद सजायको मागदाबीसहित अभियोगपत्र दर्ता गरेको हो।
अभियोगपत्र अनुसार, तामाङले विगत एक वर्षदेखि पीडितलाई प्रेम सम्बन्धको बहानामा शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए।
उनले पीडितलाई कोठामा थुन्ने, कसैलाई भनेमा ज्यान मार्ने धम्की दिने र नग्न तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गरी पटक-पटक जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ।
पीडितले दिएको जाहेरीअनुसार, तामाङले अन्तिम पटक २०८२ भदौ ४ गते राति आफ्नो डेराकोठामा लगेर जबरजस्ती करणी गरेका थिए।
त्यसअघि, २०८१ साल फागुनमा पीडित फागु पूर्णिमाको दिन घरबाट निस्किएपछि तामाङले उनलाई धोबीचौरस्थित आफ्नो कोठामा लगेर २०८२ वैशाख १५ गतेसम्म (करिब ४५ दिन) बन्धक बनाएर निरन्तर बलात्कार गरेका थिए।
अभियोगपत्रमा उल्लेख भएअनुसार, सो समयमा पीडितको उमेर केवल १६ वर्ष ९ महिना मात्र थियो।
आरोपित तामाङले प्रहरीसमक्ष दिएको बयानमा पीडितसँग आफ्नो प्रेम सम्बन्ध रहेको र सहमतिमै शारीरिक सम्बन्ध राखेको स्वीकार गरेका छन्। उनले पीडितलाई धोबीचौरस्थित आफ्नो कोठामा ४५ दिनसम्म सँगै राखेको पनि स्वीकारेका छन्।
तर, जबरजस्ती करणी र धम्की दिएको आरोप भने तामाङले अस्वीकार गरेका छन्। पीडितले आफूमाथि लगाएको आरोप रिसइबीका कारण भएको उनको जिकिर छ।
यद्यपि, सरकारी वकिलको कार्यालयले पीडित नाबालिग हुँदा भएको करणीलाई कानुनले स्वतः जबरजस्ती करणी ठहर गर्ने आधारसहित मुद्दा अघि बढाएको छ।
अभियोगपत्रमा पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट, पीडितकी आमा र छिमेकीको बयान तथा घटनास्थलको मुचुल्कालाई प्रमाणको रूपमा पेश गरिएको छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३) (घ) अनुसार १६ वर्षदेखि १८ वर्षभन्दा कम उमेरकी बालिकासँग करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार तामाङलाई अधिकतम सजायको माग गरिएको हो। साथै, पीडितका लागि उचित क्षतिपूर्ति र पीडित राहत कोषमा ५ लाख रुपैयाँ जरिवाना तिराउन पनि माग गरिएको छ।
कात्तिक १८, २०८२ मंगलबार १३:४७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।