तस्बिरमा नेपाल र इटालीको सांस्कृतिक समानता, पर्यटन बोर्डमा फोटो प्रदर्शनी शुरू

तस्बिरमा नेपाल र इटालीको सांस्कृतिक समानता, पर्यटन बोर्डमा फोटो प्रदर्शनी शुरू

काठमाडौं : नेपाल र इटालीको सिसिली क्षेत्रका सांस्कृतिक तथा धार्मिक उत्सवहरूबीचको समानतालाई २५ वटा तस्बिरमार्फत प्रस्तुत गरिएको एक फोटो प्रदर्शनी नेपाल पर्यटन बोर्डमा शुरू भएको छ।

बोर्डको नियमित दृश्य-संवाद अभियान ‘फोटोनेपाल’अन्तर्गत ‘A Tale of Two Lands: Nepal meets Sicily’ नामक प्रदर्शनीको शुक्रबार उद्घाटन गरिएको हो।

बोर्डको भृकुटीमण्डपस्थित परिसरमा आयोजित एक समारोहबीच वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले प्रदर्शनीको उद्घाटन गरे।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिकमत सिंह ऐयर र फोटो पत्रकार क्लबका अध्यक्ष द्वारिका काफ्लेको पनि उपस्थिति थियो।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चित्रकारले फोटोग्राफीलाई देशको सांस्कृतिक कूटनीतिका रूपमा प्रवर्द्धन गर्न बोर्डले खेलेको भूमिकाको प्रशंसा गरे।

निमित्त कार्यकारी प्रमुख हिकमत सिंह ऐयरले नेपालको विविधतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता प्रदर्शनीहरू महत्त्वपूर्ण माध्यम भएको बताउँदै बोर्डले सबै फोटोग्राफरसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, फोटो पत्रकार क्लबका अध्यक्ष द्वारिका काफ्लेले यस्ता कार्यक्रमले फोटोग्राफरहरूलाई थप ऊर्जा र प्रेरणा दिने विचार राखे।

प्रदर्शनीमा इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्तेले खिचेका २५ तस्बिरहरू राखिएका छन्। फोटोग्राफर भ्यालेन्टिनाले नेपाल फोटोग्राफीका लागि स्वर्ग भएको बताउँदै यहाँसँग आफ्नो घनिष्ट सम्बन्ध स्थापित भएको अनुभव सुनाए।

प्रदर्शनीले दुई फरक भूगोलका आस्था, सांस्कृतिक जीवन्तता र सामूहिक उत्सवको सुन्दरतालाई दृश्य-कथामार्फत जोड्ने प्रयास गरेको छ।

सन् २०१६ मा शुरू भएको ‘फोटोनेपाल’ अभियानले नेपालको विविध सौन्दर्यलाई फोटोग्राफीको माध्यमबाट विश्वसामु चिनाउने लक्ष्य राखेको बोर्डका वरिष्ठ अधिकृत तथा अभियानका संयोजक सुधन सुवेदीले जानकारी दिए।

यो प्रदर्शनी बोर्ड परिसरमा बिहान १० बजेदेखि दिउँसो ३:३० बजेसम्म सर्वसाधारणका लागि निःशुल्क अवलोकनका लागि खुला रहनेछ।

कात्तिक १८, २०८२ मंगलबार १३:२५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।