अदालतको आदेशपछि सरकारको नयाँ जुक्ति, पुरानै टिकट प्रयोग गरी स्वदेश फर्कन राजदूतहरूलाई पत्र
                    
                    
                    
                    काठमाडौं : सर्वोच्च अदालतले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएलगत्तै सरकारले उनीहरूलाई मन्त्रालयमा कामकाज गर्न भन्दै नेपाल फर्कन निर्देशन दिएको छ।
परराष्ट्र मन्त्रालयले ती राजदूतहरूलाई पुरानै हवाई टिकट प्रयोग गरेर कात्तिक २० गतेभित्र नेपाल आइपुग्न पत्राचार गरेको हो।
परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखाले यही मंसिर १७ गते ११ देशका लागि नेपाली राजदूतहरूको नाममा पत्र जारी गर्दै उनीहरूलाई नेपाल फर्कन निर्देशन दिएको हो।
पत्रमा भनिएको छ, ‘महामहिमज्यूलाई अर्को व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी नेपाल बोलाउने मिति २०८२/७/१७ मा निर्णय (सम्माननीय प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीस्तरीय) भएको व्यहोरा जानकारी एवं आवश्यक कार्यार्थ अनुरोध छ।’
पत्रमा अगाडि भनिएको छ, ‘नेपाल आउनका लागि महामहिमज्यूको नाममा यस अघि जारी भएको हवाई टिकट नै प्रयोग गरी मिति २०८२ कात्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न आइपुग्नु हुन समेत सोही निर्णयानुसार सादर अनुरोध छ।’
यसले सरकारले अदालतको आदेशलाई छल्न राजदूतहरूलाई ‘फिर्ता बोलाउनु’को सट्टा मन्त्रालयमा ‘कामकाज गर्न बोलाइएको’ भाषा प्रयोग गरेको देखिन्छ।
यसअघि, असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, जापान र संयुक्त राज्य अमेरिकाका लागि नियुक्त ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
सरकारको सो निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
सर्वोच्चले पदावधि बाँकी रहेको, फिर्ता बोलाउनुपर्ने ठोस कारण नदेखिएको र एकैपटक नियुक्त भएका १७ मध्ये ११ जनालाई मात्रै छनोट गर्नुले निर्णयको औचित्य पुष्टि नहुने भन्दै रोक लगाएको थियो।
अदालतको आदेशपछि राजदूतहरूको पद थमौती भएको थियो। तर, परराष्ट्र मन्त्रालयले फेरि पुरानै निर्णयको मिति (कात्तिक २०) लाई आधार मानेर उनीहरूलाई नेपाल फर्कन पत्राचार गरेको हो।
कात्तिक १८, २०८२ मंगलबार १३:०७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।