चिनियाँ नागरिकले १० हजार युआन तिरेर काभ्रेबाट बनाएका थिए ‘राम लामा’ नामको नेपाली राहदानी

चिनियाँ नागरिकले १० हजार युआन तिरेर काभ्रेबाट बनाएका थिए ‘राम लामा’ नामको नेपाली राहदानी

काठमाडौं : ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा पक्राउ परेका चिनियाँ नागरिक डिंग सेग फाले १० हजार चिनियाँ युआन (करिब १ लाख ८५ हजार नेपाली रुपैयाँ) तिरेर नेपाली राहदानी बनाएको स्वीकार गरेका छन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा दायर भएको अभियोगपत्रमा समावेश उनको बयानअनुसार, उनले ‘राम लामा’को नाममा नेपाली राहदानी खरिद गरेका थिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दिएको बयानमा डिंगले भनेका छन्, ‘नेपालमा बस्न सहज हुन्छ भनी एकजना चिनियाँ नागरिकलाई १० हजार युआन दिएर राम लामाको नाममा राहदानी खरिद गरेको थिएँ। सो राहदानी हाल मसँग छैन, प्रहरीले नियन्त्रणमा लिएको थियो।’

यद्यपि, उनले सुन तस्करीमा आफ्नो संलग्नता भने अस्वीकार गरेका छन्। आफू क्यासिनो खेल्नका लागि मात्र नेपाल आएको र अन्य प्रतिवादीहरूलाई क्यासिनोमै भेटेको दाबी उनको छ। तर, अनुसन्धानले उनको यो दाबीलाई खण्डन गर्दै उनी सुन तस्करीको संगठित सञ्जालको एक महत्त्वपूर्ण सदस्य रहेको देखाएको छ।

अभियोगपत्र र विगतका अनुसन्धानले डिंगले बनाएको राहदानी केवल ‘बस्न सहज’ हुनका लागि नभई सुन तस्करीको आपराधिक सञ्जाल नेपालमा स्थापित गर्न र त्यसलाई सञ्चालन गर्नका लागि भएको प्रस्ट पारेको छ।

यसअघि नै सार्वजनिक भएको विवरणअनुसार, डिंगले काभ्रेपलाञ्चोक जिल्लाबाट ३०३०४१-२२५४ नम्बरको नेपाली नागरिकता र सोही आधारमा १२५८९४५७ नम्बरको नेपाली राहदानी बनाएका थिए। उक्त राहदानी सन् २०२१ डिसेम्बर २३ मा जारी भएको थियो।

डिंग सेग फा यो सञ्जालमा नक्कली पहिचान बनाउने एक्ला व्यक्ति होइनन्। ६० किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्तहरू बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक ली वेन सुङ (छिरिङ लामा) र ली नेङ्काई (सोनाम लामा) लगायतले पनि काभ्रे र काठमाडौंबाट नेपाली नागरिकता र राहदानी बनाएको तथ्य खुलिसकेको छ।

यो घटनाले सुन तस्करहरूको चिनियाँ गिरोहले नेपालको राष्ट्रिय परिचयपत्र प्रणालीलाई कसरी आफ्नो आपराधिक क्रियाकलाप सञ्चालन गर्ने सुरक्षित आधार बनाएको थियो भन्ने गम्भीर प्रश्न खडा गरेको छ।

भारतमा सुन तस्करीमा कडाइ भएपछि नेपाललाई आधार बनाएको यो समूहले नक्कली पहिचानमार्फत कम्पनी खोल्ने, गोदाम भाडामा लिने र आर्थिक कारोबार गर्ने गरेको थियो।

डिंग सेग फासहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध हालै दायर गरिएको साढे ३ अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दाले यही संगठित अपराधको आर्थिक पाटोलाई उजागर गरेको छ।

कात्तिक १८, २०८२ मंगलबार १२:५४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।