६० किलो सुन तस्करी प्रकरणमा चलाउनेसहित १६ जनाविरुद्ध साढे ३ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

६० किलो सुन तस्करी प्रकरणमा चलाउनेसहित १६ जनाविरुद्ध साढे ३ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं : चर्चित ६० किलो सुन तस्करी प्रकरणको जरासम्म पुग्ने क्रममा यसको विशाल आर्थिक सञ्जालमाथि पनि कानुनी कारबाही शुरू भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा फरार मुख्य अभियुक्त जीवन चलाउनेसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोगपत्र दायर गरेको छ।

अभियोगपत्रले सुन तस्करीबाट आर्जित ३ अर्ब ५० करोड ३० लाख ९१ हजार ९७५ रुपैयाँ बराबरको कालो धनलाई कसरी संगठित रूपमा वैध बनाउने प्रयास गरियो भन्ने डरलाग्दो चित्र प्रस्तुत गरेको छ।

यो मुद्दाले सुन तस्करी आयात-निर्यातको अपराध मात्र नभई, यो एक अन्तर्राष्ट्रिय स्तरमा फैलिएको, आधुनिक प्रविधि प्रयोग गर्ने र नेपालको अर्थतन्त्रलाई नै चुनौती दिने संगठित आपराधिक सञ्जाल भएको तथ्यलाई उजागर गरेको छ।

अभियोगपत्र अनुसार, यो संगठित अपराधको सञ्जाल हङकङबाट शुरू भई नेपाल हुँदै भारतसम्म फैलिएको थियो। यसको कार्यशैली निकै सुनियोजित र तहगत थियो।

शुरूमा चिनियाँ नागरिकहरूको योजनामा दीलिप भुजेलजस्ता सामान्य आर्थिक हैसियतका नेपाली नागरिकहरूको नाममा ‘रेडी ट्रेड प्रा. लि.’ जस्ता कम्पनीहरू खडा गरियो। तिनै कम्पनीमार्फत ‘ब्रेक प्याड’, ‘सेभर’ जस्ता सामान आयात गर्ने आवरणमा सुन लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास गराइयो।

हर्कराज राई लगायतका व्यक्तिले भन्सार र यातायात व्यवस्थापनको जिम्मा लिन्थे। काठमाडौं भित्र्याइएको सुनलाई टोखा र लाजिम्पाटका गोप्य गोदामहरूमा राखिएको ‘गोल्ड मेल्टिङ मेसिन’ प्रयोग गरी पगालेर विभिन्न आकारमा ढाली बिक्रीका लागि तयार पारिन्थ्यो।

यो आपराधिक सञ्जालको सबैभन्दा उल्लेखनीय पक्ष यसको आर्थिक कारोबार गर्ने तरिका थियो। उनीहरूले परम्परागत बैंकिङ प्रणालीलाई पूर्ण रूपमा छलेर कारोबार गरेका थिए।

अभियोगपत्रका अनुसार, सुन बिक्रीबाट प्राप्त रकमको भुक्तानीका लागि डिजिटल करेन्सी (USDT), चिनियाँ भुक्तानी प्रणालीहरू (AliPay, WeChat Pay) र अनौपचारिक हुन्डी सञ्जालको प्रयोग गरिएको थियो ।

कारोबारलाई थप गोप्य बनाउन उनीहरूले नेपाली र भारतीय रुपैयाँका नोटहरूको फोटोलाई ‘कोड’ वा ‘टोकन’का रूपमा प्रयोग गरी वी-च्याटमार्फत पठाउने र सोही आधारमा नगद लेनदेन मिलाउने गरेको जस्ता अत्याधुनिक तरिका अपनाएको तथ्य अनुसन्धानबाट खुलेको छ।

यस सञ्जालमा चिनियाँ नागरिक याओ पुचेङ (एलेक्स) ले आर्थिक व्यवस्थापन, ली वेन सुङ (अली) र ली नेङ्काई (रोजर) ले सुन गाल्ने र ओसारपसार गर्ने जस्ता विशिष्ट जिम्मेवारीहरू सम्हालेका थिए।

अभियोगपत्रले सम्पत्ति शुद्धीकरणको मुख्य योजनाकारका रूपमा फरार अभियुक्त जीवन चलाउनेलाई चित्रित गरेको छ। उनीमाथि एक्लै २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको दाबी छ।

यसरी तस्करी भएको सुन बिक्रीबाट आएको अवैध पैसा चलाउनेले कम्पनीमा लगानी, घरजग्गा खरिद र अन्य कारोबारमा लगाएर वैध बनाउने प्रयास गरिएको थियो।​​​ उनले तस्करीबाट कमाएको अवैध धनलाई ‘मष्टा ग्रुप प्रा. लि.’ नामक कम्पनी खडा गरी त्यसको चुक्ता पुँजी १५ करोड पुर्याएर लगानी गरेका थिए।

चलाउनेलेकाठमाडौं, झापा, रौतहट र काभ्रेमा ३२ कित्ता जग्गा खरिद गरेको र जगतबहादुर धामीजस्ता व्यक्तिको नाममा सम्पत्ति राखेर आफू ‘लाभभोगी मालिक’का रूपमा बसेको अभियोगपत्रमा उल्लेख छ। चलाउने र अर्का अभियुक्त दावा छिरिङबीच व्हाट्सएपमा भएको सुन कारोबारसम्बन्धी कुराकानीलाई पनि प्रमाणका रूपमा पेश गरिएको छ।

यो सम्पत्ति शुद्धीकरण मुद्दा चर्चित ६० किलो सुन तस्करी प्रकरणकै निरन्तरता हो। २०८० साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ‘ब्रेक प्याड’मा लुकाइएको ६० किलो ७१६ ग्राम सुन बरामद गरेको थियो।

पछि अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लिएको थियो। सीआईबीको अनुसन्धानले उक्त समूहले यसअघि पनि ३०२ किलो सुन तस्करी गरिसकेको निष्कर्ष निकालेको थियो।

सोही प्रकरणमा मुख्य अभियुक्तका रूपमा पहिचान भएका जीवन चलाउने हालसम्म फरार छन्। उनीविरुद्ध नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ समेत जारी गरेको थियो।

यो प्रकरणको अनुसन्धानका लागि सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो। आयोगको सिफारिसमा सीआईबीका तत्कालीन प्रमुखसहित केही उच्च प्रहरी अधिकारीहरूमाथि कारबाही गरिएको थियो भने माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई समेत पक्राउ गरी अनुसन्धान गरिएको थियो।

अभियोगपत्रमा प्रतिवादीहरूलाई १० वर्षसम्म कैद, बिगोको दोब्बर जरिवाना र अपराधबाट आर्जित सम्पूर्ण सम्पत्ति जफत गर्न माग गरिएको छ।

कात्तिक १८, २०८२ मंगलबार १२:२९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।