प्राधिकरणका निवर्तमान प्रमुख शाक्यको रिटमा आज सुनुवाइ हुँदै
                    
                    
                    
                    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई पदबाट हटाइएको विषयमा दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।
सरकारले बिनाकारण आफूलाई पदबाट हटाएको भन्दै शाक्यले सोमबार दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि सर्वोच्चले आज दुवै पक्षलाई छलफलमा बोलाएको हो।
कार्यकाल पूरा हुनुअघि नै पदबाट हटाइएको दाबी गर्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका छन्। रिटमार्फत उनले आफूलाई पुनर्वहाली गर्न अन्तरिम आदेशको माग समेत गरेका छन्।
रिट निवेदनमा उल्लेख भएअनुसार, शाक्यलाई २०८१ चैत ११ गते चार वर्षे कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।
तर, सुशीला कार्की नेतृत्वको सरकारले २०८२ असोज ५ गते उनलाई पदबाट हटाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेको थियो।
शाक्य यसअघि पनि यस्तै विवादमा परेका थिए। २०७७ माघ २६ गते प्राधिकरणको कार्यकारी निर्देशक बनेका उनलाई २०७८ साउन २५ गते तत्कालीन सरकारले पदमुक्त गरेको थियो।
कात्तिक १८, २०८२ मंगलबार ११:४९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।