अफगानिस्तानलाई पाकिस्तानी सेनाको कडा चेतावनी- घुसपैठ भए पूरै शक्तिले जवाफ दिन्छौँ

अफगानिस्तानलाई पाकिस्तानी सेनाको कडा चेतावनी- घुसपैठ भए पूरै शक्तिले जवाफ दिन्छौँ

इस्लामावाद : पाकिस्तानी सेनाले अफगानिस्तानलाई कडा चेतावनी दिँदै आफ्नो भूमिमा कुनै पनि प्रकारको घुसपैठ भएमा युद्धविराम समाप्त भएको मानिने र त्यसको जवाफ पूरै शक्ति लगाएर दिइने बताएको छ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल अहमद शरिफले सोमबार पत्रकारहरूसँग कुरा गर्दै यस्तो चेतावनी दिएका हुन्।

उनले भने, ‘यदि अफगानिस्तानबाट पाकिस्तानमा घुसपैठ हुन्छ भने युद्धविराम समाप्त भएको मानिनेछ र यस्तो कुनै पनि हमलाको पूरै शक्तिले जवाफ दिइनेछ।’

बीबीसी उर्दूलाई उद्धृत गर्दै उनले पाकिस्तान र अफगानिस्तानबीचको संघर्षमा २०६ जना अफगान तालिबान लडाकु र ११० जना तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) का लडाकु मारिएको जानकारी दिए।

मेजर जनरल शरिफले पाकिस्तानले सधैँ आतंकवादविरुद्ध लड्दै आएको बताए।

‘हामी सरकारसँग वार्ता गर्छौँ, तर कुनै पनि चरमपन्थी समूहसँग वार्ता गर्दैनौँ’, उनले भने, ‘सुरक्षा मागेर वा कसैलाई खुसी पारेर पाइँदैन। पाकिस्तानलाई आफ्नो रक्षा गर्ने पूरा अधिकार छ।’

प्रवक्ता शरिफले कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा पाकिस्तानले आफ्नो भूमिमा अफगानिस्तानबाट भएका हमला र चरमपन्थी गतिविधिबारे अकाट्य प्रमाण पेस गरेको दाबी गरे।

उनले भने, ‘हामीले अफगानिस्तानलाई स्पष्ट भनेका छौँ कि या त उनीहरूले आतंकवादीविरुद्ध कारबाही गरून् वा उनीहरूलाई हामीलाई सुम्पिऊन् ताकि हामी उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सकौँ।’

यसका साथै उनले महिलालाई शिक्षा लिन नदिने अफगान तालिबानको विचारधाराको पनि आलोचना गरे।

कात्तिक १८, २०८२ मंगलबार १०:२२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।