पृथ्वी राजमार्गमा तीन सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

पृथ्वी राजमार्गमा तीन सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

धादिङ : पृथ्वी लोकमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-७, सातकिल्लामा सोमबार साँझ तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा थाक्रे गाउँपालिका-६, नौकिल्ला निवासी ६० वर्षीय उत्तम अर्याल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, काठमाडौंबाट महादेवबेसीतर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९७ प २८५२ नम्बरको मोटरसाइकल सुरुमा एकआपसमा ठोक्किएका थिए।

सोही क्रममा मोटरसाइकलबाट लडेका अर्याललाई काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको ना ६ ख ३०१३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकको दाहिनेतर्फको टायरमुनि परेर करिब १५ मिटरसम्म घिस्रिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अर्का मोटरसाइकल चालक गजुरी गाउँपालिका-१ का ३० वर्षीय राजन श्रेष्ठ घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएकोमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले केहीबेर राजमार्ग अवरुद्ध पारेका थिए। इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी निरीक्षक नन्दराज जैशीको कमाण्डमा खटिएको प्रहरी टोलीले राति सवा ८ बजेतिर राजमार्ग सुचारु गराएको थियो।

प्रहरीले ट्रक चालक बेनिघाट रोराङ गाउँपालिका-५ निवासी ३५ वर्षीय धनबहादुर परियारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ। मृतक अर्यालको शव पोष्टमार्टमका लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।

कात्तिक १८, २०८२ मंगलबार ०९:४८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।