भैरहवामा गोली चल्यो

भैरहवामा गोली चल्यो

बुटवल : भैरहवामा रहेको होटल निर्वाणमा गए राती गोली चल्दा एक जना घाइते भएका छन्।

होटल निर्वाणा लक्जरी ईन्टरनेशनल परिसरमा गोली चल्दा होटलका सुरक्षा गार्ड मीन बहादुर परियारमाथि गोली प्रहार भएको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले अपरिचित व्यक्तिले सुरक्षा गार्ड परियारलाई तिघ्रामा गोली हानेको जानकारी दिए।

गोली चलेको सूचना पाए लगत्तै प्रहरीको टिम होटलमा आइपुगेको थियो। तिघ्रामा गोली लागेका परियारलाई उपचारका लागि तत्कालै भीम अस्पताल लगिएको थियो। अहिले उनी खतरामुक्त छन्।

प्रहरीका अनुसार होटल अगाडि केही व्यक्तिहरूबीच वादविवाद चलिरहेको थियो। त्यही क्रममा एक समूह होटलमा प्रवेश गर्न थालेपछि सुरक्षा गार्डले रोक्ने प्रयास गरेका थिए।

तर, सुरक्षा गार्डमाथि नै गोली प्रहार भयो। ती व्यक्ति भारतीय नागरिक भएको अनुमान गरिएको छ। गोली लागेर घाईते भएका २७ वर्षीया मीनबहादुर परियार बुटवल १५ का बासिन्दा हुन्।

कात्तिक १८, २०८२ मंगलबार ०८:५३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।