१६ वर्षपछि कालीगण्डकी क्षेत्रमा बढ्यो दुर्लभ चिरकालिज, १८ जोडी भेटिए

१६ वर्षपछि कालीगण्डकी क्षेत्रमा बढ्यो दुर्लभ चिरकालिज, १८ जोडी भेटिए

म्याग्दी : कालीगण्डकी नदी आसपासका उच्च पहाडी क्षेत्रमा विश्वकै दुर्लभ पन्छी चिरकालिजको संख्यामा उत्साहजनक वृद्धि भएको छ। नेपाल पन्छीविद् सङ्घले हालै गरेको एक अध्ययनले १६ वर्षअघिको तुलनामा चिरकालिजको संख्या तेब्बरले बढेको देखाएको हो।

सङ्घको अध्ययन टोलीले मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गत घाँसा, लेते, कुञ्जो, टिटीताल, खन्ती र झिप्रा देउराली क्षेत्रमा गरेको गणनामा १८ जोडी चिरकालिज भेटिएका छन्। अध्ययन टोलीमा सहभागी अनुसन्धानकर्ता विराट रजकका अनुसार सन् २००९ मा सोही क्षेत्रमा गरिएको अध्ययनमा केवल ६ जोडी मात्र चिरकालिज भेटिएका थिए।

‘सन् २००४ मा १७ जोडी र २००६ मा ११ जोडी भेटिए पनि त्यसपछिका वर्षहरूमा संख्या घटेको थियो,’ रजकले भने, ‘लामो समयपछि गरिएको यो अध्ययनले संरक्षण प्रयास सफल हुँदै गएको सकारात्मक सङ्केत दिएको छ।’

अनुसन्धानकर्ताहरूका अनुसार समुदायस्तरमा बढेको संरक्षण चेतना, चोरी सिकारीमा आएको कमी र बासस्थानमा भएको सुधारका कारण चिरकालिजको संख्या बढेको हो।

खरबारी र पाखोबारीमा मानवीय गतिविधि तथा पशुचौपायाको चरनले झाडीहरू सफा हुँदा चिरकालिजलाई आहारा खोज्न सजिलो भएको रजक बताउँछन्। प्रजनन समयबाहेक अन्य समयमा लाग्ने डढेलोले पनि झाडी सफा गरी यसका लागि अनुकूल वातावरण सिर्जना गर्ने गर्छ।

‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यो पन्छीलाई अंग्रेजीमा ‘चिर फेजेन्ट’ भनिन्छ। अनुसन्धानकर्ता केशव चोखालका अनुसार, यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तो देखिए पनि यसका विशेषताहरू फरक छन्।

बिहान सूर्योदयअघि र साँझ सूर्यास्तपछि ‘चिर-चिर’ गरेर कराउने भएकाले यसको नाम ‘चिरकालिज’ रहेको हो। यसको भालेको पुच्छर लामो, आँखा रातो र शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने पोथी भालेभन्दा सानो र छोटो पुच्छरको हुन्छ।

समुद्री सतहबाट १४ सयदेखि ३६ सय मिटरसम्मको उचाइमा भिरपहरामा बस्न रुचाउँने यसले एकपटकमा ७ देखि १५ वटासम्म फुल पार्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले चिरकालिजलाई संरक्षित (लोपोन्मुख) पन्छीको सूचीमा राखेको छ। यो नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष, रारा राष्ट्रिय निकुञ्ज लगायत कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पाइन्छ।

मुस्ताङको अध्ययन सकेर टोली हाल म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा थप अध्ययनका लागि पुगेको छ।

जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईका अनुसार, अध्ययनको प्रतिवेदनका आधारमा चिरकालिज संरक्षणका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ।

राईले दुर्लभ पन्छी अवलोकनका लागि पर्यटक आकर्षित गर्न सके स्थानीय आयआर्जन र रोजगारीमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

कात्तिक १८, २०८२ मंगलबार ०८:३३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।