संखुवासभा र रुकुम पूर्वमा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

संखुवासभा र रुकुम पूर्वमा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
फाइल तस्बिर

काठमाडौं : देशका दुई महत्त्वपूर्ण राजमार्ग बाढी र निर्माण कार्यका कारण अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार संखुवासभाको कोशी राजमार्ग र रुकुम पूर्वको मध्यपहाडी लोकमार्गका केही खण्डमा यातायात पूर्ण रूपमा बन्द भएको छ।

प्रहरीले यात्रुहरूलाई सजग रहन र वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरेको छ।

प्रहरीका अनुसार, संखुवासभाको भोटखोला गाउँपालिका-४ स्थित बरुणखोलामा गत जेठ ६ गते आएको बाढीले ह्युम पाइप बगाएपछि कोशी राजमार्ग अवरुद्ध भएको हो।

खाँदबारीदेखि थुमसुर जाने सडक खण्ड विगत पाँच महिनादेखि पूर्ण रूपमा बन्द रहेको छ, जसले गर्दा त्यस क्षेत्रको आवतजावत प्रभावित बनेको छ।

यसैगरी, रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग निर्माण कार्यका कारण बन्द गरिएको छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत सिस्ने गाउँपालिका-६ को रानीकोट, किटानी, साँख खण्डमा निर्माण कार्य जारी रहेकाले यही कात्तिक १२ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि यातायात पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले रुकुम पूर्वको बन्द सडक खण्डका लागि ठुला तथा साना सवारी साधनका लागि छुट्टाछुट्टै वैकल्पिक मार्ग तोकेको छ। ठूला सवारीका लागि कैचीमोड-धाउन्ने-पोखरा छिनखेत मार्ग र साना सवारीका लागि कैचीमोड-धाउन्ने-नाथीगार्ड-धपे मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

यात्रुहरूलाई यात्रा योजना बनाउनुअघि सडकको अवस्थाबारे जानकारी लिन र तोकिएका वैकल्पिक मार्गहरू प्रयोग गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ।

कात्तिक १८, २०८२ मंगलबार ०७:३५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।