रुपन्देहीका चार उद्योगले तिरे डेडिकेटेड लाइनको बक्यौता, काटिएको बिजुली पुनः जडान
                    
                    
                    
                    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता महसुल बुझाएपछि रुपन्देहीका चार उद्योगको काटिएको विद्युत् लाइन पुनः जडान भएको छ।
ती उद्योगले लामो समयदेखि बाँकी रहेको प्रिमियम महसुलको पहिलो किस्ता सोमबार बुझाएका हुन्।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लास्टिक, पञ्चकन्या स्टिल, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले बक्यौता रकमको पहिलो किस्ता बुझाएका हुन्।
पहिलो किस्ता भुक्तानी गरेसँगै प्राधिकरणले उनीहरूको लाइन जडान गरिदिएको उनले बताए।
प्राधिकरणका अनुसार, ती उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको प्रिमियम शुल्क तिर्न बाँकी थियो।
भुक्तानी गर्ने उद्योगहरूमा पञ्चकन्या प्लास्टिकको रु. २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु. ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु. १ करोड ८३ लाख र श्याम प्लास्टिकको रु. ४९ लाख १० हजार बक्यौता रहेको छ।
प्राधिकरणले उक्त बक्यौतालाई २८ किस्तामा तिर्ने सुविधा दिएको छ, जसअनुसार उद्योगहरूले पहिलो किस्ता बुझाएका हुन्।
कात्तिक १८, २०८२ मंगलबार ०७:२३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।