पश्चिमी वायुको प्रभाव, देशका अधिकांश पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना
                    
                    
                    
                    काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण आज (मंगलबार) देशका अधिकांश पहाडी भू-भागमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी देखिने पूर्वानुमान छ।
महाशाखाले आज दिउँसोका लागि जारी गरेको पूर्वानुमान अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको पनि सम्भावना रहेको छ।
अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।
आज रातीको मौसम पूर्वानुमान अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा बादल लाग्ने क्रम जारी रहनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा पनि यस्तै अवस्था रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसममा यो बदली आएको हो। मौसममा आएको परिवर्तनले तापक्रममा सामान्य गिरावट आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।
कात्तिक १८, २०८२ मंगलबार ०७:१७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।