महाधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्नेमा कांग्रेसमा दुई धार, गुटका भेलाले बढाउँदै दुरी

महाधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्नेमा कांग्रेसमा दुई धार, गुटका भेलाले बढाउँदै दुरी

काठमाडौं : नेपाली कांग्रेसको आगामी महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पार्टीभित्रको मतभेद झन् तीव्र बन्दै गएको छ। सोमबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव ल्याउने निर्णय गर्यो। तर अर्को पक्ष भने विशेष महाधिवेशनका लागि दबाब बढाउन सक्रिय छ। 

यसअघि सहमति नजुटेकै कारण शुक्रवार र आइतबारका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको थियो। भोलि बस्ने बैठकमा भने दुवै पक्षका फरक प्रस्तावहरू पेस हुने देखिएको छ।

तर, संस्थापन इतर नेताहरू भने प्रतिनिधिसभा निर्वाचनअघि नै नियमित महाधिवेशन वा त्यसअघि विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। उनीहरूले विशेष महाधिवेशनको मागसहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।

सोमबारको भेलाले फागुन २१ मा तय प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका सबै तहलाई सक्रिय रहन आह्वान गरेको छ। साथै १५ पुसभित्र क्रियाशील सदस्य नवीकरण र नयाँ वितरण सक्ने, सम्पूर्ण तहमा घरदैलो र जागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

उता सोमबार ललितपुरको धोबिघाटमा सहमतिका लागि छलफल भएको थियो। छलफलमा चुनावअघि महाधिवेशन गर्ने र नगर्ने भन्ने दुई मतबीच समझदारी खोजिए पनि सफल भएन। छलफलका क्रममा कार्यवाहक सभापति खड्काले नेता डा. शेखर कोइरालालाई महाधिवेशनको मितिबारे धारणा सोधेका थिए। तर उनले प्रस्ट बोलेनन्।

कात्तिक १७, २०८२ सोमबार २०:३४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।