टिओबीका सदस्य तेन्जिङको कोठामा गाँजा भेटियो, नागरिकता किर्ते र लागु औषधमा अनुसन्धान

टिओबीका सदस्य तेन्जिङको कोठामा गाँजा भेटियो, नागरिकता किर्ते र लागु औषधमा अनुसन्धान

काठमाडौं : जेन-जी आन्दोलन भड्काउन संलग्न रहेको भन्दै अभद्र  व्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिङ दावा लामामाथि लागु औषध र किर्तेमा समेत अनुसन्धान प्रक्रिया अगाडि बढेको छ।

जेन-जी आन्दोलनको पहिलो दिन बाइक पड्काउँदै आन्दोलनको माहौल बिगार्न संलग्न देखिएका उनको पेस्तोल बोक्दै गरेको तस्बिर सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको थियो।

छानबिनमा उनले काठमाडौं महानगरपालिका वडा नम्बर ६ ठेगाना राखेर निकालेको  नागरिकता पनि शङ्कास्पद देखिएपछि किर्तेमा समेत अनुसन्धान सुरु गरेको पछि उनको कोठामा तलासी लिँदा गाँजा समेत फेला परेपछि लागु औषधको अभियोग समेत थपिएको छ।

उनको नागरिकता शङ्कास्पद देखिएपछि खोजिगर्दा वडा कार्यालयमा कुनै कागजपत्र फेला परेन। जिल्ला प्रशासन कार्यालय काठमाडौंको रेकर्डमा देखिए पनि आगलागीका कारण अन्य विवरण फेला परेन।

उनको नागरिकतामा हजुरबा र बा भनेर जसको नाम उल्लेख छ उनीहरूको पहिचान गरेर सोधखोज गर्दा दुवैले एक अर्कालाई नचिनेको अनुसन्धानमा संलग्न स्रोतले बतायो।

प्रहरीले बौद्धमा रहेको उनको डेरामा समेत छापा मारेको थियो। छापा मार्दा गाँजा फेला परेपछि लागुऔषधमा पनि अनुसन्धान सुरु भएको छ।

कात्तिक १७, २०८२ सोमबार १८:२१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।