गाउँमै बसेर हाइटेक टनेलमा च्याउखेती, वार्षिक १५ लाख आम्दानी

गाउँमै बसेर हाइटेक टनेलमा च्याउखेती, वार्षिक १५ लाख आम्दानी

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिको प्रयोग गर्दै गाउँमै आत्मनिर्भर किसानको उदाहरण स्थापित गरेका छन्। अठार महिने कृषि (जेटिए) अध्ययन पूरा गरेका रानाले हाइटेक टनेलमार्फत मौसमी र बेमौसमी च्याउखेती गर्दै वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। खर्च कटाएर उनी वर्षमा झण्डै १० लाख रुपैयाँ नाफा कमाउँछन्।

रानाले चिसो मौसममा कन्या च्याउ र गर्मीमा मिल्की च्याउ खेती गर्छन्। उनका अनुसार मिल्की च्याउ डल्ला राखेको १५ दिनमै उत्पादनको लागि तयार हुन्छ भने कन्या च्याउलाई २० देखि २५ दिन लाग्छ। पिँकी च्याउको पनि उत्पादन गरेको भए पनि बजार अभावका कारण हाल त्यसको खेती स्थगित गरिएको उनले बताए।

महेन्द्रनगर र झलारी बजारमा बेमौसमी कन्या च्याउको थोक मूल्य प्रतिकिलो ३५० रुपैयाँसम्म र मौसमी समयमा १०० रुपैयाँमा बिक्री हुन्छ भने मिल्की च्याउ प्रतिकिलो ४०० रुपैयाँसम्म पुग्ने गरेको छ। बजार माग बढेसँगै उनले बाह्य बजारमा पनि आपूर्ति गर्दै आएका छन्।

विवाह, भोजभतेर र चाडपर्वका बेला च्याउको माग अझ बढ्ने गरेको छ। हाल उनले मागअनुसार मोटरसाइकलमार्फत विभिन्न ठाउँमा च्याउ ढुवानी गर्छन्। विसं २०७७ मा जेटिए अध्ययनका क्रममा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै उनले घरकै गोठको कुनामा पहिलोपटक च्याउखेती सुरु गरेका थिए। घरमा पाइने भाँडाकुँडामै पराल उमालेर खटियामा सुकाई २५ वटा डल्ला बनाएर बीउ राख्दा राम्रो उत्पादन भएपछि उनले त्यसलाई व्यावसायिक रूपमा विस्तार गर्न थाले।

पहिलो सफलतापछि उहाँले बाँसको झुपडीमा ५०० परालका डल्ला राखेर मौसमी च्याउखेती सुरु गरे। बजारमा सहज बिक्री भएपछि व्यवसाय विस्तार गर्ने हौसला मिलेको उनले सम्झिए। अहिले रानासँग फलामका छवटा हाइटेक टनेल छन्, जसमा वर्षभर निरन्तर च्याउ उत्पादन भइरहेको छ। पराल काट्ने, उमाल्ने र सुकाउने काममा आधुनिक मेसिन प्रयोग हुन्छ। केही उपकरण र टनेल अनुदानमा प्राप्त भए पनि अधिकांश उपकरण उहाँले आफ्नै आम्दानीबाट खरिद गरेका हुन्।

उनका अनुसार आधुनिक प्रविधिको प्रयोगले समय, जनशक्ति र खर्च सबैमा बचत भएको छ। च्याउ उत्पादनमा उनकी श्रीमतीसहित घरका अन्य सदस्यले पनि सहयोग गर्छन्। काम धेरै भएको बेला कामदारलाई ज्यालादारीमा राख्ने गरेको उनले बताए।

“बिक्री नभएको च्याउ सुकाएर दोब्बर मूल्यमा बेच्न सकिन्छ,” रानाले भने, “त्यसका लागि अहिले आधुनिक इलेक्ट्रोनिक ड्रायर खरिद गर्ने योजना बनाएको छु।” हाल उनको च्याउखेतीमा झण्डै २० लाख रुपैयाँ बराबरको लगानी रहेको छ र भविष्यमा लगानी बढाएर डल्ले च्याउको उत्पादन सुरु गर्ने तयारीमा छन्।

रानाले गुणस्तरीय बीउको प्रयोग च्याउखेतीको सफलताको मूल आधार भएको बताए। “बीउ राम्रो भए उत्पादन बढी हुन्छ, कमसल बीउ भए फसल पनि कमजोर हुन्छ,” उनले भने, “त्यसैले बीउ उत्पादकहरूले गुणस्तरमा ध्यान दिनुपर्छ।”

च्याउमा पनि अन्य बालीजस्तै रोग-व्याधि लाग्ने भएकाले समयमै उपचार आवश्यक हुने उनको भनाइ छ। विद्यालयमा सिकेको कृषि ज्ञानले आजको सफलतासम्म पुर्याएको उल्लेख गर्दै उनले भने, “च्याउखेतीलाई अझ विस्तार गर्न आधुनिक तालिम र प्रविधिको आवश्यकता छ, त्यसका लागि कृषिसम्बन्धी निकायले चासो देखाउनुपर्छ।”

आफ्नै प्रयासमा च्याउखेती विस्तार गर्दै आएका वीरबहादुर राना अहिले गाउँका युवाका लागि प्रेरणाको स्रोत बनेका छन्। उनको सफलताले गाउँमै बसेर पनि आधुनिक प्रविधिबाट आत्मनिर्भर र सफल बन्न सकिन्छ भन्ने सन्देश दिएको छ।

कात्तिक १७, २०८२ सोमबार १४:२७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।