शताब्दी पुरानो आगम् मन्दिर जलेर ध्वस्त, देवतालाई आगोले छोएन !

शताब्दी पुरानो आगम् मन्दिर जलेर ध्वस्त, देवतालाई आगोले छोएन !

काठमाडौं : योगेन्द्रमान प्रधानलाई एक हप्ता देखि भिन्न महसुस भइरहेको थियो। राम्रोसँग निन्द्रा पर्ने समेत छाड्यो।आध्यात्मिक पृष्ठभूमिका प्रधान ध्यान पनि बसे। तर उनलाई अनौठो लाग्न छोडेन।

उनले यसबारे केही साथीहरूसँग पनि कुरा गरे। तर सबैबाट मिश्रित प्रतिक्रिया पाए। उनका केही साथीहरूले यस्तो हुँदा ‘शूभ’ हुने बताए। पछि उनले जीवनकै ‘नराम्रो’ खबर सुने। उनीहरूको पुर्ख्यौली आगम् देवताको मन्दिरमा आगलागी भयो। 

‘म खासै राति नबिउझिने। तर सुत्दा कमिलाले टोकेको जस्तो हुने, कपाल पो तानेको जस्तो हुने भएको थियो,’ आगलागी भएको आगम् मन्दिर अगाडि बसेर उनले बताए, ‘ज्यान पनि एकदम दुख्ने, कसैले उठ भनेको जस्तै लागेको थियो। एक चोटी त पुरै टाउकोबाट करेन्ट लागेको जस्तै झनन् भएको थियो।’ 

गएको असोज १३ गते फूलपातीको दिन बिहान ४ बजेर ३३ मिनेटमा बिच्छेगल्लिमा भएको उनका साथीले फोन गरेर आगलागीको भएको जानकारी दिएका रहेछन्। उनीहरू केही समय देखि कुलेश्वर बस्दै आएका छन्। 

फूलपातीमा भएको उक्त आगलागीले दश वटा घरमा क्षति भएको छ। जुद्ध वारुणयन्त्रको नजिकै भएको उक्त आगलागी समयमा निभाउन काठमाडौं महानगर चुकेपछि अहिले चौतर्फी आलोचना भइरहेको छ।   

दशैं सकिएपछि उनीहरुले क्षमा पूजा गरेर आगलागी भएको संरचनाहरूको निरीक्षण पनि गरे। दीक्षा लिएको अभिभावकको देहान्त पछि उनीहरुको परिवार आगम् मन्दिरमा गएका थिएनन्। 

‘बितिसकेको बाजेहरूले यसरी गर है भन्न पाउनु भएकै थिएन। दीक्षा लिने बाहेक अरु कोहि पनि मन्दिर भित्र जान पाउँदैनन्,’ प्रधान भन्छन्, ‘आगलागीको खबर हामीले ९० वर्षको हाम्रो काकालाई समेत सुनाउन सकेको छैन।’

दाजुभाइ, वडा, महानगर र पुरातत्व विभागका पदाधिकारीहरू मिलेर अब मन्दिरको पुनः निर्माण के कसरी गर्ने भनेर उनीहरू छलफलकै क्रममा देखिए।  

तलेजु जस्तै पुरानो यो मन्दिर 

उनीहरूको यस मन्दिरमा तीनवटा शिलापत्र छ। जस अनुसार पहिलो नेपाल संवत ७९८, दोश्रो ८४० र तेश्रो ८४१ उल्लेख भएको छ। उक्त शिलापत्रमा भए अनुसार मात्रको अनुमान गर्यो भने यस मन्दिर तीन सय देखि साढे तीनसय वर्ष पुरानो भएको स्पष्ट हुन्छ। 

तर उनीहरुले बाजेबज्यैहरूबाट सुने अनुसार काठमाडौंको तलेजु मन्दिर जति नै पुरानो हो यो मन्दिर। ‘मल्ल राजा भक्तपुरबाट काठमाडौं भित्रिदा हाम्रो पुर्खाहरू पनि सँगै आएको भन्ने कुरा छ। यता राजाको निजी तलेजु मन्दिर भएको कारण हाम्रो पनि छुट्टै बनाएको भन्ने सुनेको छु,’ प्रधानले बताए।

सानो हुँदा उनीहरू तलेजुको दर्शन गर्न जाँदा ‘हाम्रो पनि तलेजु नै हो। यही दर्शन गर। त्यहाँ गइराख्न पर्दैन’ भनेको उनले बिर्सिएका छैनन्। मल्लहरू काठमाडौंमा लगभग साढे सात सय वर्ष अघि काठमाडौंमा आएको लिखित दस्ताबेज नै भेटिन्छ।

बाजे र बजै नभए पछि आधिकारिक रुपमा दीक्षा लिएको कोहि नहुँदा मन्दिर त्यत्तिकै थियो। अर्को पुस्ताहरू जागिरमै व्यस्त भए। प्रधानको बुवा राष्ट्र बैंकमा जागिरे थिए।

‘बाजे २०५५/०५६ सालमा बित्नु भयो। अनि अर्को बजै २०६२ सालमा बित्नु भयो। यस अघि हाम्रो तीनजना बजै र एउटा बाजेले हेर्दै आउनु भएको सम्म थियो,’ उनले भने। 

बाजे बद्रीमान प्रधान सहित साइलीमा, काइलीमा अनि कान्छीमाले आगम् को सम्पूर्ण पुजा देखि लिएर रेख देख गर्दै आएका थिए। साइलीमा २०६२ सालमा बिते पछि दीक्षा लिएको व्यक्ति कोहि पनि नभएको उनले बताए। 

दीक्षा नलिएको व्यक्ति मन्दिर भित्र जान समेत हुँदैन रे। यहाँ गल्लिमा उनीहरूको श्वेत भैरव देखि लिएर अन्य प्रमुख मन्दिरहरू समेत छन्। बिच्छेबहा: को प्रधानहरू भक्तपुरको बिझुक्छेको खलक पर्न जाने उनले बताए। केहीले पछिल्लो समय प्रधानसँगै मल्ल समेत लेख्ने गरेको उनी बताउछन्। 

प्रधानका अनुसार उनीहरू अहिले काठमाडौंमा बस्दै आएको १७ औं पुस्ता हो। दीक्षा दिएको कोहि पनि बाँकी नभए पछि त्यसको पनि क्षमा पूजा गरेर उनीहरू मन्दिर भित्र गएका थिए। 

मन्दिर ध्वस्त, देवता सुरक्षित 

बिहान अँध्यारोमै लागेको आगो राति आठ बजेसम्म पनि राम्रोसँग निभेको थिएन। यसले गर्दा घरहरू पुरै ध्वस्त भए। मन्दिरको पनि गजुर खस्ने देखि झ्यालहरूमा क्षति भयो। तर उनीहरू आगो निभे पछि भित्र जाँदा मूल देउता भने सुरक्षित रहेको उनले बताए। 

‘भैरव बोरामा मुख बाँधेर राखिएको रहेछ पूजा कोठामा। आगोले त्यहाँको झ्याल पुरै जलेर फल्याक पनि खसेको छ। तर देउतालाई केही पनि भएन,’ उनले सुनाउँदै गए, ‘हाम्रो मूल देउता र गर्भ गृह देउता पनि केही भएको छैन। हामी आफै पनि अचम्ममा पर्यौं।’ 

यसबारेमा उनीहरुले गुठिसंस्थानलाई पनि जानकार गराइसके। भीमसेन, तामाको भीमसेन, शिलापत्रहरू सबै अहिले उनीहरुले सुरक्षित राखेका छन्। मन्दिरको उत्तरपट्टि रहेको झ्यालमा सुनको जलप थियो। त्यो झ्याल भने पुरै जल्यो।

‘के कति जल्यो भनेर हामीलाई नै थाहा छैन। हामी सबैजना यस अघि मन्दिर भित्र नगएका मात्र छौं। हामीलाई भनिएको र बाहिरबाट देखेकोहरू बारे मात्र हामी पनि जानकार छौं,’ उनले भने। 

उनले भने अनुसार मुख्य देउताको खापा जलेर भित्र खस्यो। तर त्यसले देउतालाई केही पनि भएन। मन्दिरको सुनको गजुर भने केहि दिन अघि मात्र उनीहरुले फेला पारे। बाँकी टुँडालका काष्ठकलाहरु सबै पूर्ण रुपमा जल्यो।

‘देउता चै गजब सम्म बच्यो,’ उनले भने, ‘यो हाम्रो घरहरू नै सय वर्ष भन्दा पुरानो हो। नब्बे सालको भूकम्प देखि लिएर २०७२ सालको भूकम्प खेपेका घरहरू। अझै पनि हामीले सपोर्ट मात्र दिएर राखेका छौं। सब बलियो नै छ।’

चार तल्ला घर माथि तीन वटा छाना भएको प्यागोडाको मन्दिर यहाँ थियो। दुईतला माथिको प्यागोडामा त पुरै सुनको जलप लगाइएको थियो। अनि अन्य झ्यालहरूमा तामा र सुन मिसाएर बनाइएको थियो। मन्दिरको प्रत्यक झ्यालमा शिव लिंग कुँदेको थियो। अहिले मन्दिर र घर दुवै आगोले कुरूप बनेको देख्न सकिन्छ।  

‘बाहिर बाट हेर्दा मन्दिर हो भन्ने प्रष्ट हुन्थ्यो। तर हाम्रो घर नै यही थियो। क्षति कति भयो भनेर त अनुमान पनि गर्न सकेका छैनौं। देउतालाई केही पनि भएको छैन। अनि बाँकी केही पनि छैन,’ उनले भावुक हुँदै भने । 

परिवारलाई बाँध्ने मन्दिरको संरचना 

यस मन्दिरको संरचना आफैंमा निकै रोचक थियो। मन्दिरको तल्ला अनुसार इँटा र माटो समेत फरक प्रयोग भएको थियो। एउटा ढोकाबाट छिरे पछि अर्कै दाजुभाइको कोठा अनि त्यसबाट पनि ‘पजल’ जस्तै गरेर माथि जानु पर्छ। 

उनका अनुसार एउटा कोठाबाट अर्को दाजुभाइको कोठा हुँदै पालैपालो गरेर गए पछि मात्र मूल देउता भएको ठाउँमा पुगिन्थ्यो। जहाँ पाए त्यहाँबाट मन्दिर पुग्न सकिँदैन। त्यसैले मन्दिरमा को/कति खेर जाँदै छ भन्ने समेत परिवारको सबैजनालाई थाहा हुने संरचना छ।

एकै घर दाजुभाईहरू बीच बाढ्दै बाढ्दै अहिले टोल नै भएको छ। दाजुभाइ मात्र नभएर पुस्तापुस्ता अनुसारका उनीहरूको परिवार यहाँ छन्। अहिले अस्तित्वमा रहेकाहरू मात्र पनि सात पुस्ताको दाजुभाइ छन्।

‘त्यसलाई हाम्रो नेवारीमा सलाख्य्वा भन्छ। तल्ला अनुसार बाजे खलक देखि मिलेर बसेको। पुस्ता पुस्ता अनुसारले फरक फरक तल्ला,’ उनी भन्छन्, ‘त्यहि भएर हाम्रो यहाँ धेरै दाजुभाइहरू छन्। एकै बाजेको मात्र नभएर फरक फरक बाजेको समेत।’ 

सलाख्य्वा भनेको एकै समूह हो। त्यसकारणले यो मन्दिर एकजनाको मात्र नभएर पुरै प्रधान परिवारकै हुन जान्छ। वडासँग कुरा हुँदा वडाले मन्दिरको लालपुर्जा मागेको तर मन्दिर र देउताको अलग्गै लालपुर्जा नभएको उनको तर्क छ। 

शताब्दी पुरानो मन्दिर भए पनि महानगर देखि पुरातत्व विभाग समेतले यसमा खासै चासो देखाएको छैन। यसको पूजा देखि संरक्षणसम्म उनीहरुले नै गर्दै आएका छन्। आगलागी भएकै दिन पुरातत्व विभागका प्रतिनिधि उनीहरुलाई भेट्न आएको उनले बताए।

‘पुरातत्वको म्याडम आउनु भएको थियो। उहाँले मन्दिर बनाउनको लागि नक्साको काम विभागले गरिदिने बताउनु भएको छ,’ उनी भन्छन्, ‘तर कसरी बनाउने, कहिले बनाउने भन्ने केही कुरा हुन पाएको छैन। यसमा महानगरले पनि हामीलाई हेर्न पर्ने हो।’ 

‘कुलदेवता जस्तो संवेदनशील पुरातत्वमा राज्यको पनि ध्यान जाओस ’

कपडाको गोदामबाट आगलागी सल्केको कारण गोदाम मालिकबाट क्षतिपूर्ति लिने कि भन्ने पनि उनीहरूको कुरा भएको रहेछ। 

‘आगलागी भए पछि के गर्ने, कसरी गर्ने भनेर हाम्रो त दिमागले काम गरेको छैन,’ उनले भने, ‘सुने अनुसार बिमा दावी गर्नको लागि यस अघि पनि दुई ठाउँमा यसरी नै आगलागी गराएर गोदाम मालिक यहाँ आएको भन्ने पनि रहेछ।’

‘कुलदेवता जस्तो संवेदनशील कुरा छ। गुठी संस्थान देखि स्थानीय सरकार र पुरातत्वले कसरी हेर्छ भन्ने कुरा पनि महत्वपूर्ण कुरा हो,’ उनले भने। यस मन्दिरमा नित्य पूजा बाहेक वर्षमा एक पटक विशेष र हरेक महिनामा फरक फरक पूजा गर्नुपर्थ्यो ।

अब सबै दाजुभाइहरू बीच छलफल गरेर सबैले दीक्षा लिँदै पूजालाई निरन्तरता दिने समेत उनीहरुको कुरा हुँदै छ। ‘दीक्षा लिन फेरि निकै गाह्रो छ। एक महिना पुरै एकै कोठा भित्र बसेर हरेक दिन दुई घण्टा पाठ पढ्नु पर्छ। बाहिरको उज्यालो हेर्न पाउँदिन.’ उनले भने।

यतिको कडाइका साथ दीक्षा लिने कि अरु केही विकल्प अनुसार अगाडि बढ्ने भनेर पनि उनीहरू छलफलमै देखिए। मन्दिरको पुनः निर्माण भए पश्चात पूजाहरूलाई निरन्तरता दिँदै यसलाई पर्यटकीय रुपमा अगाडि बढाउने योजना भएको समेत उनी बताउछन्।

‘पुरानो जस्ताको तस्तै राख्ने। मन्दिरको महत्व पनि दर्शाउने। भक्तपुरको चोकचोकलाई पर्यटकीय प्रवर्धक गरेको जस्तै गर्न सकियो भने राम्रो होला जस्तो लाग्छ,’ उनले भने, ‘अब अहिले यो गर्छु भन्न सक्ने अवस्था पनि छैन हाम्रो। भाकल गरेको जस्तो होला भन्ने अप्ठ्यारो पनि छ।’  

कात्तिक १७, २०८२ सोमबार १३:५२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।