भियतनाममा भीषण बाढीः ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
एजेन्सी : मध्य भियतनाममा परेको लगातार भारी वर्षाका कारण आएको भीषण बाढीले कम्तीमा ३५ जनाको ज्यान लिएको छ भने पाँच जना अझै बेपत्ता छन्।
विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार पछिल्ला २४ घण्टाभित्र १.७ मिटर (करीब ५ फिट ६ इन्च) वर्षा भएपछि तटीय प्रान्तहरू तहसनहस भएका छन्। भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरण (भिडिडिएमए) का अनुसार मृतकमध्ये अधिकांश ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तका हुन्।
युनेस्को विश्व सम्पदामा सूचीकृत प्राचीन सहर होइ एन पनि अहिले कम्मर–गहिरो पानीमा डुबानमा परेको छ। नदी ६० वर्षयताकै उच्चतम स्तरमा पुगेपछि स्थानीय बासिन्दाहरू काठका डुङ्गा प्रयोग गरी सहरभित्र आवाजाही गर्न बाध्य भएका छन्।
स्थानीय चुओङ गुयेन भन्छन्, “हामीले बाढीको तयारी गरेका थियौँ तर पानी यति बढ्छ भन्ने सोचेका थिइएनौँ। धेरै घरहरू तयारी नहुँदा सामान बगाएका छन्।”
भिडिडिएमएको विवरणअनुसार १६ हजार ५०० भन्दा बढी घर डुबानमा परेका छन्, ४० हजारभन्दा बढी गाईवस्तु र कुखुरा बगाएका छन्, र करिब ५ हजार ३०० हेक्टर खेतीयोग्य जमिन बाढीले नष्ट गरेको छ। वातावरण मन्त्रालयका अनुसार एक लाखभन्दा बढी घरहरू प्रभावित भएका छन् र देशभर १५० भन्दा बढी स्थानमा भूस्खलन भएको छ।
विशेषज्ञहरूले मानव-सिर्जित जलवायु परिवर्तनलाई यस्ता चरम मौसमी घटनाको मुख्य कारण बताउँदै आएका छन्। भियतनाम उष्णकटिबन्धीय चक्रवातबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये एक हो, जहाँ सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुने गर्छ।
तर सन् २०२५ मा मात्र देशले १२ वटा उष्णकटिबन्धीय आँधीबेहरी भोगिसकेको छ। यस वर्षका पहिलो नौ महिनामा मात्र आँधीबेहरी, बाढी र भूस्खलनजस्ता प्राकृतिक प्रकोपका कारण १८७ जनाको मृत्यु वा बेपत्ता भएको सरकारी तथ्याङ्कले जनाउँछ।
सरकारका अनुसार बाढी र अन्य प्रकोपबाट करिब ६१ करोड अमेरिकी डलरभन्दा बढीको क्षति भएको छ। राहत र उद्धार कार्य जारी भए पनि लगातार वर्षाका कारण कार्य कठिन बनेको बताइएको छ।
कात्तिक १६, २०८२ आइतबार २०:५३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।