‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा भाग लिन राष्ट्रपति पौडेल कतार जाँदै
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आगामी सोमबार कतारको राजधानी दोहा जान लागेका छन्। उनले त्यहाँ कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने भएका छन्।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेलले १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते हुने सम्मेलनको मुख्य सत्रमा सम्बोधन पनि गर्नेछन्।
संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार आयोजना हुन लागेको यो सम्मेलन सदस्य राष्ट्रहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि फेरि आयोजना हुन लागेको यो सम्मेलनको ऐतिहासिक महत्त्व उल्लेख गर्दै नेपालबाट राष्ट्रपतिको सहभागिता त्यसअनुरूप गरिमामय हुने बताए।
दोहामा हुने भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न उच्चस्तरीय व्यक्तित्वहरूसँग भेट्ने कार्यक्रम छ।
सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलो पटक आयोजित यो सम्मेलन यसपटक कतारले आयोजना गरेको हो। सम्मेलनमा विश्वभर बढ्दै गइरहेको विकास असमानता, जनसङ्ख्यात्मक असन्तुलन, प्रविधिक प्रभावलगायत विषयमा गहन छलफल हुनेछ। सामाजिक विकासका लागि सहकार्य र साझा प्रतिबद्धतामा जोड दिइने जनाइएको छ।
नेपाल सन् १९५५ देखि संयुक्त राष्ट्रसंघको सदस्य रहँदै आएको छ र अहिले राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को अध्यक्ष राष्ट्रका रूपमा रहेकाले पनि राष्ट्रपति पौडेलको सहभागिता विशेष अर्थपूर्ण मानिएको छ।
कतार भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ।
कात्तिक १६, २०८२ आइतबार १७:४१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।