रास्वपाले गर्यो केन्द्रीय विभागको नेतृत्व हेरफेर
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न केन्द्रीय विभागको जिम्मेवारी फेरबदल गरेको छ। आइतबार बसेको सचिवालय बैठकले विभागहरूको नेतृत्व फेरबदल गरेको हो।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठकले रवि किरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखको जिम्मेवारी दिएको छ। अधिकारी लामो समयदेखि नेपालका विविध अनुसन्धान कार्यमा संलग्न छन्।
रामप्रसाद भट्टराई र डा. कृष्णमान शाक्यलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्य बनाइएको छ। भट्टराई पूर्व नेपाल स्काउट निर्देशक हुन् भने शाक्य जनस्वास्थ्य विज्ञका रूपमा चिनिन्छन्।
सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुख र तोयानारायण पौडेललाई केन्द्रीय शिक्षा विभाग सदस्यको जिम्मेवारी दिइएको छ। पौडेल ह्वाइट हाउस कलेजका प्राचार्य हुन्।
बोधनारायण श्रेष्ठ केन्द्रीय संगठन विभाग उपप्रमुख बनेका छन्। श्रेष्ठ व्यवस्थापन विज्ञ हुन् र संयुक्त राष्ट्रसङ्घ नेपालमा लामो समय कार्यरत थिए।
पार्थीवेन्द्र उपाध्याय, मनिराम घिमिरे, र ज्ञानु पौडेल पनि केन्द्रीय शिक्षा र महिला विभागमा सदस्यका रूपमा नियुक्त भएका छन्।
पूर्व लुम्बिनी प्रदेश मन्त्री कल्पना पाण्डे र सामाजिक नेतृ ज्ञानु पौडेल केन्द्रीय महिला विभाग सदस्यका रूपमा चयन भएका छन्।
प्रवास समन्वयमा सक्रिय अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख र ज्ञानेन्द्र महतालाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव बनाइएको छ।
त्यस्तै, प्रमीला कुमारी सिंह नीति विचार विभाग सदस्यका रूपमा जिम्मेवारी पाएकी छन्। सिंहले नेपालका विभिन्न विकास परियोजनामा लामो समय काम गर्ने अनुभव प्राप्त गरेकी छिन्।
कात्तिक १६, २०८२ आइतबार १७:१६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।