मेयर बालेनले चासो नदिएपछि आफैँ ल्याण्डफील्ड साइट पुगेर स्थानीयलाई मनाए मन्त्री घिसिङले
काठमाडौं : बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीयले चार दिनदेखि अवरोध गरे पनि अवरोध खुलाउन काठमाडौं महानगरपालिका निष्क्रिय बस्यो। यस अगाडि फोहोर फाल्न अवरोध हुँदा महानगरका मेयर बालेन शाह स्थानीयसँग संवाद र स्थलगत अनुगमनमा जान्थे। तर यस पटक उनले यो अवरोध खुलाउन त्यति चासो दिएनन्।
संवादबाट समस्या समाधानको प्रयास गर्नुको साटो महानगरले बन्चरे डाँडामा फोहर फाल्न अवरोध भएको भन्दै केही दिन घरको फोहर बाहिर नफ्याँक्न महानगरवासीको नाममा सूचना निकाले। आइतबार बिहानै शहरी मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडामा पुगेर स्थानीयवासीहरुसँग गरेको संवादबाट भने अल्पकालीन समाधान निस्किएको छ।
बिहानै बञ्चरेडाँडा पुगेका घिसिङले स्थानीय जनप्रतिनिधिसँगै स्थानीयवासीसँग छलफल गर्दै यस अगाडि भएका सहमति अनुसार काम हुन बाँकी पक्ष १५ दिनभित्र पुरा हुने आश्वासन दिएपछि तत्कालका लागि अल्पकालीन रूपमा समस्या समाधान भएको हो। मन्त्री घिसिङ आइतबार बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेर भएका सहमति पुरा गर्ने वचन दिएपछि स्थानीयवासी अवरोध हटाउन राजी भएका हुन्।
कात्तिक १६, २०८२ आइतबार १२:३६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।