धनुषामा बस र अटो ठोक्किँदा एकै परिवारका तीनसहित चारको मृत्यु, दुई बालबालिका गम्भीर
धनुषा : धनुषाको गणेशमान चारनाथ नगरपालिकामा शनिबार साँझ यात्रुवाहक बस र अटोरिक्सा ठोक्किँदा एकै परिवारका तीन जनासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ। भयानक दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार, विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सुप्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१-००१ ह १२३० नम्बरको अटोरिक्सालाई पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजार खण्डमा ठक्कर दिएको हो।
प्रहरी निरीक्षक लक्ष्मण केसीले दिएको जानकारीअनुसार दुर्घटनामा परी गणेशमान चारनाथ नगरपालिका, भरतपुर निवासी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, उनका भाइ ३५ वर्षीय शम्भु पुर्वछाने मगर र ३५ वर्षीया निशा मगरको मृत्यु भएको छ।
उनीहरू एकै परिवारका सदस्य हुन्। यसैगरी, अटोरिक्सा चालक करिब ४० वर्षीय डम्बर राईको पनि घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा मृतक धनबहादुरका १४ वर्षीय छोरा शीतल मगर र ९ वर्षीय छोरा रोशन मगर गम्भीर घाइते भएका छन्। उनीहरूको जनकपुरधामस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
कात्तिक १६, २०८२ आइतबार ०९:२४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।