विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं : आईसीसी महिला विश्वकप क्रिकेटको उपाधिका लागि आज आयोजक भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ।

नवी मुम्बईको डा. डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा हुने यो फाइनल खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे शुरू हुनेछ।

दुवै टोली पहिलो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्, जसले गर्दा यो फाइनल भिडन्त ऐतिहासिक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

यो फाइनल खेल दुवै टोलीका उत्कृष्ट खेलाडीहरूको प्रदर्शनमा निर्भर रहनेछ। भारतीय टोलीको ब्याटिङको मुख्य जिम्मेवारी उत्कृष्ट लयमा रहेकी स्मृति मन्धाना र कप्तान हरमनप्रीत कौरको काँधमा हुनेछ।

मन्धानाले पछिल्ला १० खेलमा ७०.११ को औसतमा ६३१ रन बनाएकी छिन् भने कौरले पनि महत्वपूर्ण योगदान दिएकी छन्।

उता, दक्षिण अफ्रिकी ब्याटिङ लाइनअप पनि निकै बलियो छ। लौरा भोल्वार्ट र ताजमिन ब्रिट्सले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका छन्। ​​​​​​

भोल्वार्टले पछिल्ला १० खेलमा ६६.४४ को सानदार औसतमा ५९८ रन जोडेकी छिन्, जसले भारतीय बलरहरूका लागि ठूलो चुनौती खडा गर्न सक्छिन्।

बलिङतर्फ, भारतकी अनुभवी अलराउन्डर दीप्ति शर्मा र श्री चरणी प्रमुख हतियार हुनेछन्। दीप्तिले पछिल्ला १० खेलमा २१ विकेट लिएकी छन्।

दक्षिण अफ्रिकाका लागि अनुभवी मारिजाने काप र स्पिनर नोन्कुलुलेको म्लाबाको प्रदर्शन निर्णायक हुन सक्छ। कापले आफ्नो किफायती बलिङ (४.०२ इकोनोमी) मार्फत भारतीय ब्याट्सम्यानलाई रोक्ने प्रयास गर्नेछिन्।

पछिल्ला पाँच खेलको नतिजा हेर्दा भारतले दक्षिण अफ्रिकामाथि ४-१ को फराकिलो अग्रता लिएको छ। यसले भारतीय टोलीलाई मनोवैज्ञानिक रूपमा फाइदा पुग्न सक्छ।

यद्यपि, दुई टोलीबीच भएको पछिल्लो खेलमा दक्षिण अफ्रिका ३ विकेटले विजयी भएको थियो, जसले उनीहरूको आत्मविश्वास बढाएको छ।

वर्तमान लयको कुरा गर्दा, दक्षिण अफ्रिकाले आफ्ना पछिल्ला पाँचमध्ये चार खेल जितेको छ भने भारतले दुई खेलमा हार बेहोरेको छ। यसले दक्षिण अफ्रिकी टोली उच्च मनोबलका साथ फाइनलमा प्रवेश गर्ने संकेत गर्छ।

घरेलु मैदान र दर्शकको समर्थन भारतको पक्षमा रहनेछ भने दक्षिण अफ्रिका आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै इतिहास रच्न चाहन्छ।

बलियो ब्याटिङ र सन्तुलित बलिङ आक्रमण भएका दुई टोलीबीचको यो भिडन्तले विश्व क्रिकेटले नयाँ च्याम्पियन पाउने निश्चित छ।

कात्तिक १६, २०८२ आइतबार ०८:४०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।