बाबर आजमको अर्धशतकीय पारीमा पाकिस्तानको शानदार जित, दक्षिण अफ्रिकाविरुद्धको सिरिज २-१ ले कब्जा

बाबर आजमको अर्धशतकीय पारीमा पाकिस्तानको शानदार जित, दक्षिण अफ्रिकाविरुद्धको सिरिज २-१ ले कब्जा

लाहोर : पूर्वकप्तान बाबर आजमकोअर्धशतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतले पाकिस्तानले तेस्रो तथा निर्णायक टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ। यस जितसँगै पाकिस्तानले ३ खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ।

लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले फिल्डिङ रोजेको पाकिस्तानले दक्षिण अफ्रिकालाई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रनमा सीमित गरेको थियो। जवाफमा पाकिस्तानले १९ ओभरमा ६ विकेट गुमाउँदै १४० रनको लक्ष्य पूरा गर्यो।

पहिले ब्याटिङ गर्न आएको दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो। स्टार बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरमै क्विन्टन डी कक र लुआन-ड्रे प्रिटोरियसलाई शून्य रनमा आउट गर्दै पाहुना टोलीलाई सुरुवाती झट्का दिए। त्यसपछि पनि दक्षिण अफ्रिकाले नियमित अन्तरालमा विकेट गुमायो।

उसका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ३४ रन बनाए पनि त्यसका लागि ३६ बल खर्चिए। कप्तान डोनोभान फरेराले १४ बलमा २९ रनको विष्फोटक पारी खेले भने अन्त्यतिर कोर्बिन बोशले अविजित रहँदै ३० रन जोडेपछि दक्षिण अफ्रिकाले सम्मानजनक स्कोरसम्म पुग्न सफल भयो।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ विकेट लिए भने फहिम असरफ र डेब्यु गरेका उस्मान तारिकले समान २-२ विकेट हात पारे। सलमान मिर्जाले ४ ओभरमा मात्र १६ रन दिएर १ विकेट लिँदै किफायती बलिङ गरे।

१४० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात पनि राम्रो हुन सकेन। ओपनर सइम अयुब शून्य रनमा आउट भए। तर, एक छेउबाट इनिङ्स सम्हालेका बाबर आजमले उत्कृष्ट ब्याटिङ गर्दै जितको आधार तयार पारे। उनले ४७ बलमा ९ चौकाको मद्दतले ६८ रनको महत्वपूर्ण पारी खेले।

बाबरलाई कप्तान आघा सलमानले ३३ रन बनाएर राम्रो साथ दिए। यी दुईबीच तेस्रो विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी भयो। तर, दुवैजना आउट भएपछि खेल केहीबेर रोमाञ्चक मोडमा पुगेको थियो।

अन्तमा, फहिम असरफ र उस्मान खानले टोलीलाई थप क्षति हुन नदिई ६ बल बाँकी छँदै जित दिलाए। बाबर आजम खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए भने सिरिजभर उत्कृष्ट प्रदर्शन गरेका फहिम असरफ ‘प्लेयर अफ द सिरिज’ चुनिए।
 

कात्तिक १६, २०८२ आइतबार ०८:४१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।