अन्नपूर्ण पदयात्रामा होटलवालाको ‘गुण्डागर्दी’ : अनाधिकृत असुलीको बिल माग्दा कुटिए पर्यटक, भने- ‘हुमखोला तरेर देखा’

अन्नपूर्ण पदयात्रामा होटलवालाको ‘गुण्डागर्दी’ : अनाधिकृत असुलीको बिल माग्दा कुटिए पर्यटक, भने- ‘हुमखोला तरेर देखा’

काठमाडौं : सामाजिक सञ्जाल टिकटकमा भाइरल भएपछि आन्तरिक पर्यटकको ओइरो लागेको अन्नपूर्ण प्रथम (नर्थ अन्नपूर्ण) आधार शिविर पदयात्रा मार्गमा होटल व्यवसायीहरूको मनपरी र ‘गुण्डागर्दी’ले सीमा नाघेको छ।

सीमित पूर्वाधार र राज्यको कमजोर उपस्थितिको फाइदा उठाउँदै व्यवसायीहरूले पर्यटकसँग मनलाग्दी शुल्क असुल्ने मात्र नभई प्रतिवाद गर्नेमाथि सांघातिक आक्रमणसमेत गर्न थालेका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर चारमा पर्ने यो पदमार्गमा काठमाडौंबाट गएका पर्यटकको एक समूहमाथि भएको कुटपिट र लुटपाटको घटनाले यहाँको अवस्थालाई सतहमा ल्याएको हो।

पदयात्रुको अवस्था।आफ्नै टेन्टमा बस्दासमेत ‘कर’को नाममा पैसा असुल्न खोज्ने र बिल माग्दा आक्रमण गर्ने व्यवसायीविरुद्ध पीडितहरूले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा लिखित उजुरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

के थियो घटना?
काठमाडौंबाट पदयात्राका लागि आवश्यक सबै तयारी गरेर गएको पर्यटक समूहले आफ्नै टेन्ट टाँगेर बसेका थिए। तर, भुस्केट मेलास्थित एक होटलका सञ्चालकले उनीहरूसँग प्रति टेन्ट ५ सय रुपैयाँ ‘ट्याक्स’ मागे। पर्यटकहरूले उक्त शुल्कको बिल माग्दा विवाद शुरू भयो।

एक पीडित पर्यटकले आफ्नो अनुभव सुनाउँदै भने, ‘यहाँ बस्न आउँदा टेन्ट आफैँ ल्याउनुपर्छ भनेर हेरेर हामीले काठमाडौंबाटै टेन्ट लिएर आएका थियौँ। तर आफ्नै टेन्ट राखेको पनि ट्याक्स चाहिन्छ भन्दै हामीलाई पैसा माग्न आयो। बिल नदिएसम्म पैसा नदिने भन्दा हामीमाथि कुटपिट भएको छ। धम्की पनि दिइएको छ।’

प्रत्यक्षदर्शीका अनुसार, बिल माग्नासाथ आक्रोशित बनेका होटल सञ्चालकले फलामको रड लिएर पर्यटकहरूलाई आक्रमण गर्न खोजेका थिए।

ज्यान जोगाउन डराएका पर्यटकले पैसा दिए पनि उनीहरूले उक्त पैसा च्यातेर फ्याँकिदिए। उनीहरूलाई ‘हुमखोला तरेर देखा’ भन्दै पदयात्राको पहिलो स्टेसनबाटै फर्काइदिने धम्की दिइयो।

त्यति मात्र होइन, पर्यटकहरूलाई थर्काउँदै उनीहरूले भने, ‘पुलिसले त कुटाइ खाएर गएको ठाउँमा तिमीहरू को होस् र?’ पीडितहरूले घटनाको भिडियो खिचेका थिए, तर व्यवसायीहरूले उक्त भिडियो डिलिट गर्न लगाएर मात्र उनीहरूलाई त्यहाँबाट जान दिएका थिए।

के भन्छ प्रहरी?
यसअघि पनि पदयात्रा मार्गमा यस्ता गुनासाहरू आइरहे पनि औपचारिक उजुरी परेको थिएन। तर, लिखित उजुरी परेपछि प्रहरी प्रशासन गम्भीर बनेको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले गुनासोबारे प्रहरी जानकार रहेको र अब कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उकेरासँगको कुराकानीमा डीएसपी थापाले भने, ‘पहिला पनि धेरै गुनासोहरू आइरहेको थियो।

तर हामी पनि त्यहाँ जान पाइरहेका थिएनौँ। अब लिखित नै उजुरी आएपछि हामी पक्कै पनि सिडियो साब, गाउँपालिका अध्यक्ष र वडा अध्यक्षसँग पनि यसबारे कुरा गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनेछौँ।’

पदयात्रा मार्गमा सञ्चार सम्पर्कसमेत नहुने र राज्यको उपस्थिति शून्य बराबर हुँदा व्यवसायीहरूले जे गरे पनि हुने अवस्था रहेको उनले स्वीकारे।

प्रहरीमाथि नै आक्रमण हुने गरेको भन्ने व्यवसायीको धम्कीबारे सोधिएको प्रश्नमा उनले भने, ‘त्यहाँ टावर नै छैन। फोनमा सम्पर्क हुन सक्ने अवस्था नै छैन। राज्यको उपस्थिति नभएको जस्तै ठाउँमा जे भने पनि हुने भयो नि। यसबारे पनि हामी पक्कै कारबाही अगाडि बढाउनेछौँ।’

अव्यवस्थित पदयात्रा र चौतर्फी लुट
यो पदयात्रा मार्गमा देखिएको समस्या केवल व्यवसायीको गुण्डागर्दीमा सीमित छैन।

हुमखोलादेखि माथिल्लो क्षेत्रमा सञ्चार सुविधा छैन, हरेक स्टेसनमा एउटा मात्र होटल छ, जसले गर्दा पर्यटकहरू उनीहरूको एकाधिकार र महँगीको मारमा पर्न बाध्य छन्।

भुस्केटमेलाको होटलमा एकै दिनमा हजार जनासम्म पर्यटकले खाना खाने गरेको तर व्यवस्थापन शून्य रहेको पाइएको छ। त्यहाँ एक छाक सादा खानाको एक हजार रुपैयाँ र भुइँमा एक रात सुतेको पनि एक हजार रुपैयाँसम्म असुल्ने गरिएको छ।

कतिपय पर्यटकले खाना र बासको लागि २२ सय रुपैयाँसम्म तिरेको बताएका छन्। यातायातमा समेत मनपरी छ। बेनीदेखि हुमखोलासम्म जीप चालकहरूले एकै जना यात्रुबाट ३५ सय रुपैयाँसम्म असुलेको पाइएको छ।

उजुरी दर्ता भएलगत्तै प्रहरीले स्थानीय तहसँग समन्वय गरेर तत्कालका लागि अवैध असुली रोकेको दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी इन्स्पेक्टर सागर तिमल्सिनाका अनुसार, गाउँपालिका र वडा अध्यक्षसँगको समन्वयपछि सोही रातदेखि पैसा उठाउने काम रोकिएको दाबी गरे।

‘उजुरी आएलगत्तै हामीले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षसमक्ष पनि यो कुरा राख्यौँ। त्यही रातिदेखि पैसा उठाउन रोकिएको छ,’ सूचना अधिकारी तिमल्सिनाले भने, ‘केहीलाई तीन सय रुपैयाँको दरले समेत टेन्ट राखेको पैसा उठाएको रहेछ। हामीले उनीहरूलाई सम्पर्कमा आउन भनेका छौँ तर अहिले त्यहाँ हिमपात भइरहेको कारण उनीहरू आउन भने सकेका छैनन्।’

गत जेठमा अन्नपूर्ण प्रथम आरोहणको हीरक जयन्ती भव्यताका साथ मनाइएपछि चर्चामा आएको यो पदमार्ग पर्यटकको ओइरोसँगै व्यवस्थापनमा भने पूर्ण रूपमा चुकेको छ।

हाल, १० गतेदेखि भएको भारी वर्षा र हिमपातका कारण जिल्ला प्रशासन कार्यालय, म्याग्दीले कार्तिक १४ गतेसम्मका लागि पदयात्रामा पूर्ण रोक लगाएको थियो।

कात्तिक १६, २०८२ आइतबार ०८:१२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।