न्युजिल्यान्डका दिग्गज क्रिकेटर केन विलियमसनले टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिए
एजेन्सी : न्युजिल्यान्डका महान् क्रिकेटर केन विलियमसनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनको सन्यासको जानकारी न्युजिल्यान्ड क्रिकेट बोर्डले सार्वजनिक गरेको हो।
विलियमसनले न्युजिल्यान्डका लागि ९३ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै कुल २,५७५ रन बनाएका छन्। सन् २०११ मा टी-२० मा डेब्यु गरेका उनले ७५ खेलमा टोलीको कप्तानी सम्हालेका थिए।
उनको नेतृत्वमा न्युजिल्यान्डको टोली दुई पटक (२०१६ र २०२२) टी-२० विश्वकपको सेमिफाइनल र एक पटक (२०२१) फाइनलसम्म पुग्न सफल भएको थियो।
आफ्नो सन्यासको घोषणा गर्दै विलियमसनले क्रिकेटको यो छोटो स्वरूपबाट अलग हुने यो नै सही समय भएको बताए।
उनले भने, ‘यो यस्तो फर्म्याट हो, जसको हिस्सा बन्न मलाई सधैँ मनपर्थ्यो र यी यादहरूका लागि म आभारी छु। तर अब यो मेरो र टोली दुवैको लागि सही समय हो। यसले आगामी शृङ्खला र अर्को टी-२० विश्वकपको तयारीका लागि टोलीलाई स्पष्टता दिनेछ।’
विलियमसनले न्युजिल्यान्डमा प्रतिभाशाली युवा खेलाडीहरू धेरै रहेको र अब उनीहरूलाई अवसर दिनुपर्नेमा जोड दिए।
उनले भने, ‘टी-२० मा हामीसँग धेरै प्रतिभा छन्। आउने समयमा उनीहरूलाई थप अवसर दिनु महत्त्वपूर्ण छ, ताकि उनीहरू विश्वकपका लागि तयार हुन सकून्।’
उनले टोलीका कप्तान मिचेल सान्टनरको प्रशंसा गर्दै भने, ‘मिच एक उत्कृष्ट कप्तान र नेता हुन्। उनले यो टोलीका लागि साँच्चै राम्रो काम गरेका छन्। अब ब्ल्याक क्याप्सलाई अगाडि बढाउने जिम्मेवारी उनकै हो र म बाहिर बसेर उनलाई समर्थन गरिरहनेछु।’
कात्तिक १६, २०८२ आइतबार ०७:३२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।